पोखरा –  २७ का वडाध्यक्ष गुरुङको परिवारबाट वीर आधारभूत विद्यालयमा  २ लाख रुपैयाको अक्षयकोष स्थापना

  लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा शुक्रवार विद्यालयमा २ लाख रुपैयाको अक्षयकोष अक्षयकोष स्थापना गरेका छन् । वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ,दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङ सहितको उपस्थितिमा स्व. बुबा अमरबहादुर गुरुङ र दाजु स्व धनबहादुर गुरुङको स्मृतिमा २ लाख रुपैयाको अक्षयकोष पोखरा माहानगर पालिका वडा नं २७ को वीर आधारभूत विद्यालयमा स्थापना गरेका हुन् । गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक बिकासमा सहयोग पुग्ने सोंचका साथ गुरुङको परिवारले उक्त रकमको चेक प्रधानाध्यापक विन्दु सुवेदीलाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले बुबा र दाजुको सम्झनामा विद्यालयका विद्यार्थीहरूको शैंक्षिक विकासमा सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताए । सोही अवसरमा विद्यालयका सल्लाहकार समेत रहेका समाजसेवी सुवेदारमेजर जगबहादुर गुरुङले विद्यालयलाई नगद पचास हजार रुपैया सहयोग गरे । यस्तै अर्का समाजसेवी रामबहादुर गुरुङ ढल्केले नगद पन्ध्र हजार रुपैया सहयोग गरका थिए । कार्यक्रममा बोल्दै लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल र राइजिङ स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङले दाताहरुलाई धन्यवाद दिदै रकमको सदुयोग हुने विश्वास व्यक्त गरे ।

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि एक लाख भक्तहरूले उपस्थिति जनाउने अनुमान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा शनिवार साधु सन्त, कथा व्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय हुने आयोजकको विश्वास छ ।  आयोजकका अनुसार भोलि (शनिवार) ३३ जिल्लाबाट भक्तजन आउने छन् ।
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले भोलि (शनिवार) मात्रै  एक लाख भक्तहरूले एकै दिन उपस्थिति जनाउने अनुमान गरेको जानकारी दिए । उनका अनुसार शनिवार देशभरबाट ५ सय बढी बसमा कोटिहोममा भक्तजनको आगमन हुन लागेकोले पनि कोटिहोममा भोलि भक्तजनको उपस्थिति उल्लासमय हुने विश्वास लिइएको छ ।
कोटिहोममा भोलि (शनिवार) सुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महारज आउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
उनका अनुसार जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ३ गते देखि ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ । उनीहरूले कोटिहोममा प्रवचन गर्नेछन् ।
कोटिहोममा आज चर्चित गायिका एलिना चौहान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए।
कोटिहोममा भोलि (शनिवार) देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल,  ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।
कोटिहोममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिव श्रीनाथ बरालले पोखरामा सबै खालका पर्यटन भित्राउन कोटिहोमले सहयोग गरेको बताए ।
‘सुन्दर नगरी पोखरा पर्यटकीय राजधानीको रुपमा परिचित छ’ उनले भने, ‘कोटिहोमले धार्मिक पर्यटन मात्र नभई सबै खालका पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलको छ ।’
उनले महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीको उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टी साथमै रहेको विश्वास दिलाए । त्यसै गरी खुश्वु ओलीले हिन्दु धर्म सङ्कटमा परेको वेला यति ठुलो महायज्ञ लगाएर धर्मको रक्षा गरेकोमा आभार व्यक्त गरिन् ।
गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले ऐतिहासिक कोटिहोममा आफू साक्षी हुन पाउँदा सुखद अनुभव भएको बताइन् ।
कोटिहोममा चलचित्र निर्देशक तीर्थ बहादुर थापा, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य सीता पौडेल, प्रदेश कमिटी उपाध्यक्ष मुक्ति पौडेल, प्रदेश कमिटी सचिवालय दानी शर्मा बराल, कास्की जिल्ला अध्यक्ष खड्का हमाल, प्रदेश सदस्य सरस्वती ठकुरी, प्रदेश सदस्य मिना शाही ठकुरी, प्रदेश सदस्य प्रेम थापा, वडा नं. १७ का उपाध्यक्ष इशारा थापा, हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, समाजसेवी शारदा पङ्गेनी अर्याललगायतको उपस्थिति रहेको थियो।
कोटिहोममा शुक्रवार धुर्कोट गाउँपालिका–५ गुल्मीकी श्यामकला भण्डारीबाट ५१ हजार १ सय ५५, पोखरा–७ रत्न चोक निवासी कमला कार्की र उनका परिवारले २१ हजार ५५, सितागंगा नगरपालिका वडा नं. ३ अर्घाखाँचीका कुलराज पौडेलले ११ हजार १ सय ५५ गाउँ सुधार आमा समूह स्याङ्जाबाट ११ हजार १ सय ११, पुतली बजार– ११ स्याङ्जाकी रुकी अर्यालले १६ हजार, चिन्तनशील आमा समूह पोखरा– ५ बाट १५ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
यसैबिच जेठ ४ गते आइतबार नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
उनका अनुसार कोटिहोममा सहभागी हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।
त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।
कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ ।
प्रतियोगितामा बाँके, बर्दिया, जुम्ला, पर्वत, स्याङ्जा, कास्की, नवलपुर, वाग्लुङ, लमजुङ, चितवन, काठमाण्डौं, तनहुँ, धादिङ, म्याग्दी लगायतका जिल्लाबाट नाम दर्ता भइसकेको उनले जानकारी दिए ।
महायज्ञमा गत वैशाख २७ गते देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा  प्रवचन गरिरहेका छन् । उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ । कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता र रक्तदान कार्यक्रम जारी रहेको छ ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।
कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिङ्गको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

राष्ट्रिय शिक्षक शिक्षा सम्मेलन – २०८२ सम्पन्न

पोखरा । शिक्षक शिक्षाका नवप्रवर्तन तथा चुनौतीहरु सम्बोधन गर्ने उद्देश्यका साथ “Innovations and Challenges in Teacher Education” थिमअन्तर्गत  पोखरामा आयोजित तीन दिने शिक्षक शिक्षा विषयक राष्ट्रिय सम्मेलन – २०८२ समापन भएको छ ।  वैशाख २९ गते सोमबार शिक्षक शिक्षासम्बन्धी १४ कार्यपत्रहरु प्रस्तुत गरेर बर्तमान शिक्षक शिक्षालाई स्वदेशी, रैथाने एवम् वैदिक ज्ञान र विज्ञान प्रविधि क्षेत्रमा विकास भएका नवप्रवर्तनसँग जोड्दै प्रविधि र संस्कृति मैत्री बनाउनु पर्ने र शिक्षकलाई तालिम भन्दा निरन्तर शिक्षाको अवसर तथा सुविधा दिएर पेसाप्रति जवाफदेही बनाउन सकिने निष्कर्शसहित सम्मेलन  समापन भएको हाे  । शैक्षिक योजना तथा व्यवस्थापन विभागका विभागीय प्रमुख डा. श्रीकृष्ण पन्थीको संयोजकत्वमा भएको ३ दिने उक्त सम्मेलन अवधीमा देशका ५० भन्दा बढी शिक्षाकर्मी तथा प्राध्यापकहरुको सहभागीता थियो भने विभिन्न विषयमा प्यानल छलफल र ब्रेकआउटसहित १२ वटा सत्रहरू चलाइएको थियो । पृथ्वीनारायण क्याम्पस शैक्षिक योजना तथा व्यवस्थापन विभागको आयोजना, पृथ्वीनारायण क्याम्पस तथा विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोग तथा नेपाल संस्कृत विश्वविद्यालय (NSU) एवम् नेपाल शीक्षाशास्त्री समाज (TESON), पोखराको सहकार्यमा ३ दिनसम्म चलेको सम्मेलनमा श्रुति शर्मा, शकुन्तला पगेनी, यादवराज अधिकारी, डा. खरिकादेवी पराजुली, डा. पितृराज बास्तोला, डा. पिताम्बर पौडेल, डा. विष्णुप्रसाद शर्मा, डा. प्रेमप्रसाद पौडेल, डा. श्रीकृष्ण पन्थी, रामप्रसाद सुवेदी, डा. खगराज बराल, प्रा. डा. गुरुप्रसाद सुवेदी, शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला, शिक्षविद्, प्रा. डा. वासुदेव काफ्ले लगायतले शिक्षक शिक्षाका विविध विषयमा प्रस्तुति दिनुभएको थियो । गण्डकी विश्वविद्यालयका डीन डा. कपिल अधिकारीले सम्मेलन पुस्तिका अनावरण गरी वैशाख २७ गते शनिवार उद्घाटन गरेको उक्त सम्मेलनको सोमबार २९ गते बुद्धजयन्तीका दिन  शिक्षाविद् प्रा. डा. वासुदेव काफ्लेले समापन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन समारोहमा बिभागीय सदस्य उपप्रा राम प्रसाद सुवेदीले कार्यक्रमको उद्देश्य सहित स्वागत, तथा शिक्षाशास्त्र संकायका सहायक क्याम्पस प्रमुख तथा कार्यक्रमका सल्लाहकार गजेन्द्रप्रसाद च्वाईं, अनुसन्धान कार्यक्रम (CRI) प्रमुख प्रा. डा. विकास के सी तथा डीन अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । अनुसन्धान प्रमुख के सी ले यस बिभाग अनुसन्धान तथा रचनात्मक कार्यमा अगाडि रहेकोमा बधाई दिनुभएको थियो भने बिशेष अतिथि  अधिकारीले अगामी १० वर्षमा AI ले शिक्षण र चिकित्सा पेसाको स्वरूप परिवर्तन गर्न सक्ने अध्ययनहरूले देखाएकोमा हामी ज्ञानका बारेमा पूर्व र पश्चिम भनि सीमारेखा नहुने कोर्न बताउनु भएको थियो । कार्यक्रमको पहिलो दिनका प्रमुख वक्ता नेपाल संस्कृत विश्वविद्यालयका प्रा. डा. गुरुप्रसाद सुवेदीले गुरुकुल शिक्षाको पुनर्बोध तथा शिक्षण पद्दति शीर्षकमा प्रवचन दिदैं गुरूकुल शिक्षा प्रणाली वैज्ञानिक रहेको हुँदा हामीले अधुनिक प्रविधिको साथसाथै पौरस्त्य ज्ञानको समेत प्रबर्धन गर्न जोड दिनुपर्ने विचार राख्नुभएको थियो । वक्ता डा. प्रेमप्रसाद पौडेलले शिक्षक शिक्षामा वैश्विक अभ्यासहरुको बिश्लेषण गर्दै नेपालको शिक्षक शिक्षाको गुणस्तरीय विकासकालागि भावी कार्यदिशा सम्बन्धमा आफ्नो विचार राख्नुभएको थियो । दोस्रो दिनका प्रमुख वक्ता शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले बदलिँदो गन्तव्यको शिक्षक शिक्षा तथा शिक्षक शिक्षण शीर्षकमा केन्द्रित रहेर वैश्विक शिक्षक शिक्षा र हाम्रो शिक्षक शिक्षामा अन्तर के छ, उल्झन के छ, कसरी रैथाने ज्ञानलाई जोड्दै पाठ्यक्रमलाई सान्दर्भिक बनाउने र अबको गन्त्व्य के हुनुपर्छ जस्ता विषयमा गहन विचार राख्नुभएको थियो । अर्का प्रमुख वक्ता पूर्व शिक्षा सचिव तथा नास्ट सेवा आयोगका अध्यक्ष डा. खगराज बरालले नेपालमा शिक्षक र शिक्षक शिक्षा अभ्यास, चुनौती तथा आगामी दिशा विषयक कार्यपत्र प्रस्तुत गर्दै देशको शिक्षक शिक्षामा सरकारको नीतिगत अस्थिरता र विरोधाभास रहेको तथ्यगत प्रस्तुति दिनुभएको थियो । तेस्रो दिनका प्रमुख वक्ता शिक्षाविद् प्रा. डा. वासुदेव काफ्लेले शिक्षक शिक्षामा समता, समावेशीकरण र विविधता शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । शिक्षाविद् काफ्लेले अबको शताब्दी समाजमा पछि पारिएका वा परेका बर्ग (subaltern community) को भएकाले शिक्षक शिक्षामा बिविधता व्यवस्थापन र समाबेशीतालाई पनि जोड दिनुपर्ने र समाबेशीताको मुद्धा एक् लामो र खर्चिलो यात्रा रहेको तर बहिष्करणको परिणाम अझ बढी खर्चिलो हुने विचार राख्नुभएको थियो । अर्का वक्ता डा. श्रीकृष्ण पन्थीले त्रिभुवन विश्वविद्यालयको पूर्व सेवाकालिन शिक्षक शिक्षा र शिक्षक सेवा आयोगको शिक्षक अनुमतिपत्र तथा छनोट परीक्षाको पाठ्यसामग्रीवीचको तुलनात्मक अध्ययनमा १० प्रतिशत मात्रै तालमेल रहेको अनुसन्धानमा देखिएको हुँदा विश्वविद्यालयको शिक्षा र सेवा आयोगको परीक्षालाई सान्दर्भिक बनाउनुपर्ने विचार राख्नुभएको थियो । उक्त दिन शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला समेतको सहभागीतामा “Talk to Gurus” शीषर्कमा Breakout Session पनि राखिएको थियो । शैक्षिक योजना तथा व्यवस्थापन विभागका विभागीय प्रमुख डा. श्रीकृष्ण पन्थीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा शैक्षिक योजना तथा व्यवस्थापन विभागका सदस्य तथा शिक्षण अभ्यास बिभाग प्रमुख रामप्रसाद सुवेदीले स्वागत, सहभागी कल्पना ढुंगानाले कार्यक्रमको अनुभव, अंग्रेजी शिक्षा विभागका विभागीय प्रमुख डा. नवराज न्यौपानेले सम्मेलनका उपलब्धि व्यवहारमा रूपान्तरण हुनुपर्ने धारणा राख्नुभएको थियो भने कार्यक्रमका सल्लाहकार तथा शिक्षाशास्त्र संकायका सहायक क्याम्पस प्रमुख गजेन्द्रप्रसाद च्वाईंले राम्रो कार्यक्रम गरेकोमा बिभागलाई धन्यवाद दिनु भएको थियो भने बिशिष्ट अतिथि काफ्लेले शिक्षक शिक्षा नेपालमात्र होइन, विश्वमै चौबाटोमा छ । यो विषय अहिले साझा सवाल हो । अमेरिकामा पनि सबैभन्दा बढी जागिर छाड्ने पेसा शिक्षण नै भएको छ जसरी केही वर्ष यता देशमा शिक्षक अभाव हुँदैगएको छ भने भएका राम्रा शिक्षकलाई पनि कसरी रिटेन गर्ने भन्ने चुनौति थपिएको छ । शिक्षक परिवर्तनको निर्माता भएको हुँदा उसलाई निरन्तर शिक्षाको आवश्यकता हुन्छ भन्ने मन्तव्य राख्दै सान्दिर्भिक कार्यक्रम गरेको भनि विभागलाई बधाई दिनु भएको थियो । बिभागीय प्रमुख डा श्रीकृष्ण पन्थीको संयोजकत्वमा राम प्रसाद सुवेदीले अर्थ र अतिथि सत्कार, कृष्ण प्रसाद तिमिल्सिनाले फोटोग्राफी तथा जलपान, सृजना सुवेदीले हल व्यवस्थापन, श्रीकान्त सापकोटाले संचार र स्टेशनरी व्यवस्थापनसहित कार्यक्रम संचालनको जिम्मा बिभागीय सदस्य गोविन्द प्रसाद गैह्रेले लिनुभएको उक्त कार्यक्रम व्यवस्थापनमा एक्का तामाङ र राम बहादुर मगरले हल तथा कार्यक्रम व्यवस्थापनमा उल्लेख्य सहयोग पुर्याउनु भएको थियो । साथै आर्थिक सहनियन्त्रक पुष्पराज पौड्याल तथा कर्मचारी प्रशासन प्रमुख पूर्ण बहादुर गुरुङ, लेखा अधिकृत पुष्प राज भट्टराई, पश्चिमान्चल क्षेत्रिय पुस्तकालय प्रमुख किशोर सुबेदी तथा QAA संयोजक अमृत कुमार भण्डारीले कार्यक्रममा व्यवस्थापनमा सहजीकरण गरी सहयोग गर्नु भएको थियो भने क्याम्पस प्रमुख प्रा. डा. हरि प्रसाद पाठक प्रमुख सल्लाहकार र शिक्षाशास्त्र संकाय प्रमुख गजेन्द्र प्रसाद च्वाईं तथा स्नातकोत्तर शिक्षा कार्यक्रम संयोजक महादेव पहारी सल्लाहकारको भूमिकामा रहेर कार्यक्रममा सहयोग पुर्याउनु भएको थियो । यसरी सम्मेलन रचनात्मक, उपयोगी र भव्य रुपमा सम्पन्न गराउन सहयोग पुर्याउनु हुने सबै मुख्य वक्ता, वक्ता, प्यानल प्रस्ताता तथा सहभागी तथा अन्य सहयोगी सबैलाई, बिशेषगरी आर्थिक तथा अन्य आवश्यक सहयोग पुर्‍याउनु भएकोमा विश्वविद्यालय अनुदान आयोग र पृथ्वीनारायण क्याम्पसलाई आयोजक एवम् शैक्षिक योजना तथा व्यवस्थापन बिभागले धन्यवाद ज्ञापन गरेको छ ।    

पन्चासे बुद्ध विहार साहिस्वारामा विभिन्न कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइयाे