कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार बन्ने

0
काठमाडौँ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ । सो केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरे । सो केवलकारको लम्बाइ ८३ दशमलव ६५ किलोमिटर हुनेछ । सो केवलकारमा ६ वटा स्टेशन रहनेछन् । पहिलो शुरुवाती स्टेशन वीरेठाँटीमा हुनेछ । त्यसपछि घोरेपानी, तातोपानी, लेते, मार्फा, कागबेनी र मुक्तिनाथ रहनेछ । सो आयोजनाको कूल लागत करीब ३५ अर्ब लाग्ने बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।  गत वैशाख १५ गते बसेको बोर्डको ३० औँ बैठकले सो केवलकार निर्माणसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको थियो । बोर्डले मुक्तिनाथ दर्शन प्रालिलाई आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो । समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १८ महीनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार पारी बोर्डसमक्ष पेश गर्नुपर्ने प्रवक्ता वाग्लेले जानकारी दिए । नेपालमा निजी क्षेत्रबाट केवलकार निर्माण शुरु भई सञ्चालनमा आएको करीब डेढ दशकपछि सार्वजनिक निजी साझेदारी अवधारणामा हालसम्मकै लामो केवलकार निर्माण गर्न लागिएको हो । पछिल्लो पटक नेपालमा केवलकार निर्माणका लागि स्थानीय तहले नै पहल गर्दै आएको छ । मनकामना केवलकार र चन्द्रागिरिमा केवलकार निर्माण भई सञ्चालनमा आइसकेको छ । यस्तै दोलखाको कालीञ्चोकमा समेत केवलकार निर्माण सम्पन्न हुने चरणमा छन् । हाल देशभर दुई दर्जनभन्दा बढी स्थानमा केवलकार निर्माणका लागि पहल भइरहेको छ ।

राष्ट्रपति भण्डारीले गरिन् पशुपतिमा पूजा एवं दर्शन

0
काठमाडौँ । नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका (तीज)का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न जाँदा उनलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कोष सञ्चालक परिषद्का सदस्य एवं कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीलाई पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टले फूल एवं प्रसाद दिएका थिए । सात लाखभन्दा बढी भक्तजन  तीजका अवसरमा पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरेर सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेको कोषका सदस्यसचिव डा ढकालले जानकारी दिए । बेलुकी ८ बजेसम्म भक्तजन लाममा बसेर पशुपतिनाथको दर्शन गरेका थिए । राष्ट्रपति भण्डारी मन्दिर प्रवेश गर्नुअघि एक घण्टा लाम बसेका दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको थिएन । यस वर्ष लाम व्यवस्थित गरिएकाले तिलगङ्गा–गौशाला–चावहिल मार्गमा दिनभर सार्वजनिक यातायात सञ्चालन भयो । यसले गर्दा पनि भक्तजन आवतजावत गर्न सहज भएको थियो । यस वर्ष एक घण्टामा मन्दिरभित्र पुगेर दर्शन गरी बाहिर निस्कन सकिएको झापाबाट आएकी दर्शनार्थी जानुका गुरागाईंले सुनाइन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको थियो । तीजका दर्शनार्थीलाई प्रवेश गराउन मन्दिरका चार ढोका बेलुकी ८ बजेसम्म खुला गरियो । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा दिनभर भीड लाग्यो । पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको थियो । जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने र वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको थियो । दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भागमा स्थान छुट्याइएको थियो । पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरियो । पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर उपत्यकाबाहिर धनेश्वर, कुशेश्वर, हलेसीलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्यो ।

डोटीको रुवसकाँडामा बस दुर्घटना

0
धनगढी — दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदैछ । बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

पहिरोमा परेका दुईको मृत्यु

0
लमजुङ — मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन । पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए । स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।