असोज ३ गते ‘ब्ल्याक आउट’ गर्न राजपा नेपालले जिल्लामा पठायो यस्तो सर्कुलर

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसको दिन असोज ३ गते मधेसमा ब्ल्याक आउट गर्ने निर्णय गरेको छ । संविधान जारी भएको दिनको सम्झनामा सरकारले असोज ३ गते संविधान दिवस बनाउने निर्णय गरेको छ । तर, राजपा नेपालले सो दिन कालो दिनको रुपमा मनाउने निर्णय गर्दै विरोध प्रदर्शन र विरोध सभा गर्ने समेत निर्णय गरेको हो । दुई दिनसम्म चलेको राजपा अध्यक्ष मण्डलको बैठकले असोज ३ गते साँझ सात वजेदेखि सात १७ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने निर्णय भएको पार्टीका संयोजक महन्थ ठाकुरले रातोपाटीलाई जानकारी दिए । साथै, पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै प्रदेश, जिल्ला तथा स्थानीय तहमा पार्टीको बैठक राख्न  सर्कुलर समेत पठाएको छ । राजपा नेपालको बैठकले जिल्लालाई पठाएको सर्कुलरमा भनिएको छ–निर्वाचित जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका, वार्डस्तरका सबै प्रमुख र सदस्यहरुसँग अन्तरक्रियात्मक बैठक गर्ने र उनीहरुबाट नियमिति र मासिक लेवी बारे छिट्टै केन्द्रबाट निर्णय गर्ने ।’ पार्टीका सबै सदस्यले राजपा नेपालको साधारण सदस्यता ग्रहण गर्नुपर्ने उल्लेख गर्दै पार्टीको प्रथम महाधिवेशन प्रयोजनका लागी अभिायनका रुपमा सञ्चालन हुने सदस्यता वितरण अभियानमा विगतमा राजपा नेपालको सदस्यता ग्रहण गरिसकेका नेता कार्यकर्ताहरुले समेत महाधिवेशनका लागि नयाँ सदस्यता लिन पनि निर्देशन दिएको छ । जिल्लाभन्दा तलको संगठनमा अध्यक्ष मण्डलको व्यवस्था नभएकाले गाउँ, टोल, वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरका तदर्थ संगठनहरुमा एकल अध्यक्षीय प्रणाणी बनाउन पनि सर्कुलरमा उल्लेख छ ।

निर्मला पन्त हत्या प्रकरणः विष्टसँगै बम दिदीबहिनी पनि छुटे

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा अभियुक्त बनाइएका दिलिपसिंह बिष्ट रिहा भएका छन् । बिष्टसँग बम दिदीबहिनी पनि रिहा भएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । १४ वर्षीय रोशनी बमलाई साधारण तारेखमा छाडिएको छ भने दिदी १८ वर्षीय बबिता बमलाई ३० हजार धरौटीमा छाडिएको छ । प्रहरीले घटनाको २४ दिनपछि भदौ ४ गते बिष्ट नै घटनाका मुख्यअभियुक्त भनेर पक्राउ गरेको थियो । तर प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि तत्कालिन प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी केन्द्र तानिएका थिए । गत साउनको दोस्रो साता १३ वर्षीया पन्तको शव साथी रोशनीको घरमा गएको भोलिपल्ट हत्या गरिएको अवस्थामा भेटिएको थियो । ‘निर्मलाको डिएनएको प्रोफाइल तयार भएको छ । उनको शरिरमा भेटिएको अपराधीको डिएनएसँग बिष्टको डिएनए मिलेन । त्यही भएर विष्टलाई रिहा गर्ने निर्णय भएको हो,’ जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

काठमाडौंको रातोपुलबाट वाइसिएलका केन्द्रीय सदस्य पक्राउ

काठमाडौं । प्रहरीले योङ कम्युनिष्ट लिग (वाईसिएल) सिन्धुलीका अध्यक्ष पुष्पराज श्रेष्ठलाई काठमाडौंबाट गिरफ्तार गरेको छ । मंगलबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई काठमाडौंको रातोपुलबाट गिरफ्तार गरेको हो । वाइसिएलका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठमाथि प्रहरीले ठेक्केदारमाथि धम्क्याएको आरोपमा गिरफ्तार गरेको जनाएको छ ।  श्रेष्ठले केही समय अघिदेखि आफ्नो घर निर्माण गर्न ठेक्केदारलाई जिम्मा दिएका थिए । ठेक्केदारले त्यसबापतको पैसा माग्दा उल्टै पेस्तोल देखाएर धम्की दिएको प्रहरीको आरोप छ । लामो समयदेखि गुन्डागर्दी गर्दै आएका श्रेष्ठ तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएसँगै आफ्ना कर्तुतबाट चोखिन सो पार्टीमा लागेको जनाइएको छ । वाईसिएल तत्कालीन नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन हो । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपनि वाइसिएल र युथफोर्सबीच भने एकता प्रक्रिया जारी छ । श्रेष्ठले यसअघि एउटा अपहरण, ४ वटा ज्यान मार्ने उद्योग र २ वटा सार्वजनिक अपराधमा सजाय भुक्तान गरिसकेका छन् । उनी सिन्धुली कमलामाई नगरपालिका–५ का स्थायी बासिन्दा हुन् ।

तीन डीआईजी एआईजीमा बढुवा सिफारिस, एक नम्बरमा पुस्कर कार्की

काठमाडौं– नेपाल प्रहरीका डीआईजी पुस्कर कार्कीसहित तीन डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस भएका अरु दुई जनामा ठूले राई र धिरु बस्नेत रहेका छन् । कार्की यसअघि आईजीपीको दाबेदार रहेका थिए । तर, सर्वेन्द्र खनाललाई सरकारले चयन गरेपछि उनी डीआईजीमा खुम्चिएका थिए । उनै कार्की अहिले एक नम्बरमा रहँदै एआईजीमा बढुवा सिफारिस भएको गृह मन्त्रालयले मंगलबार अबेर निकालेको विज्ञप्तिमा उल्लेख छ । बढुवा समितिको मंगलबार बसेको बैठकले कार्की, राई र बस्नेतलाई एआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम को उपनियम (४) को प्रावधान अनुसार उनीहरुकमो बढुवा सिफारिस गरेको बढुवा समितिको सचिवालयका सदस्य सचिव समेत रहेका आईजीपी सर्वोच्द्र खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीको तीन वटा अतिरिक्त महानिरीक्षक पद गत २९ चैत  देखि रिक्त रहेको थियो। डीआईजी कार्की, राई,  बस्नेतसहित मनोज नेउपाने र सुरेशबिक्रम शाह प्रतिस्पर्धामा थिए।