मन्त्री केसीले दिए संसदमा उठेका प्रश्नको जवाफ
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले संसदमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिएका छन् । गण्डकी प्रदेश सभामा सांसदहरूले शून्य समयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री केसीले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई नियमअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने बताए । ठेक्काबमोजिम काम नगर्ने ठेकदारलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा डाकेर काम अगाडी बढाउन निर्देशन दिइएको उनले सुनाए । साथै निर्धारित समयभित्र काम सक्न ताकेता गरेका मन्त्री केसीले बताए ।
निर्माण व्यवसायीलाई निर्माण कार्य अगाडी बढाउन निरन्तर प्रगति मूल्यांकन पेश गर्न पत्राचार गरिएको एवं समयभित्र सडक निर्माण सम्पन्न हुन नसके कानुनबमोजिम पत्राचार गर्ने उनको भनाइ थियो । गत आ।व २०८०र८१ को वार्षिक विकास कार्यक्रममा न्यून बजेट विनियोजन भएको कारण वहुवर्षीय योजनामा रकम अपुग भएकोमा सालबसाली योजनाहरुको ठेक्का व्यवस्थापनबाट बचत हुन आएको रकम काम भएका वहुवर्षीय योजनामा रकमान्तरका लागि आर्थिक मामिला मन्त्रालयमा पेश भएको उनले जानकारी दिए । तर हालसम्म रकमान्तर नभएको कारणले निर्माण स्थलबाट निर्माण व्यवसायीले निर्माण कार्य बन्द गरेको अवस्था रहेको मन्त्री केसीले बताए । म्याग्दीका विभिन्न खण्डमा पहिरो गई फाफरखेत सडक अवरुद्ध भएकोमा मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट सडक खुलाई आवागमनलाई सहज गर्न मन्त्रालय सफल भएको उनले दाबी गरे । मन्त्री केसीले प्रदेशमा भएका सडकलाई सुरक्षित बनाउन सडकको लागत इस्टिमेट गर्दै सुरक्षासम्बन्धी ट्राफिक संकेत चिन्ह एवं आवश्यक स्थानमा क्यार्स व्यारियर जडान गर्ने कामका लागि रकम विनियोजनको व्यवस्था गरिएको मन्त्री केसीले सुनाए । क्षति भएका र मर्मत गर्नुपर्ने सडकलाई स्वीकृत बजेटको परिधिभित्र रहेर क्रमश प्राथमिकताको आधारमा सम्बन्धित पूर्वाधार विकास कार्यालयको सिफारिसमा मर्मत गर्दै आएको उनले जानकारी गराए ।
केही क्षतिग्रस्त सडकहरुको सम्बन्धमा आफू मन्त्री भएर आउनुभन्दा अघि नै बजेट विनियोजन एवं खर्च भएको मन्त्री केसीले सभालाई सुनाए । कामको प्रगतिको आधारमा भुक्तानी गरी निर्माण व्यवसायीलाई निर्माणमा सहजीकरण गर्ने मन्त्री केसीले बताए ।
प्रगतिशील लेखक संघ गण्डकीमा प्रा. डा.यदुनन्दन उपाध्याय
पोखरा । प्रगतिशील लेखक संघ गण्डकीको शनिबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायलाई संघको अध्यक्षमा चयन गरेको छ। सर्बसम्मत रुपमा निर्बाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारी चयन भएका छन ।
त्यसैगरी अधिवेशनले बाबुराम सुवेदी, श्रीभद्र पौडेल, भोलाप्रसाद बस्ताकोटी, नारायण लम्साल, युवराज पौडेल, शम्भु अर्याल, अर्जुनप्रसाद सुवेदी, लोकनाथ पुडासैनी, रञ्जना खत्री, भरत बाग्लुङे, गणेश अधिकारी, छन्दमणि त्रिपाठी, निर्मल पौडेल, लक्ष्मी सिग्देल, नेपालप्रकाश अधिकारी, शोभासिंह ठकुरी र आकाश अधिकारीलाई कार्यसमितिको सदस्यको जिम्मेवारी दिएको छ ।
त्यस्तै संघका गोर्खा अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङ अध्यक्ष बासुदेव थापा, तनहुँ अध्यक्ष विनोदकुमार विक, स्याङजा अध्यक्ष अनन्त अर्याल, कास्की अध्यक्ष छवि सुवेदी विजयी, नवलपुर अध्यक्ष काशीराम गैरे, पर्वत अध्यक्ष आनन्द रिमाल, वाग्लुङ अध्यक्ष विजय राना तथा म्याग्दी अध्यक्ष लीला गाउँले कार्यसमितिमा पदेन सदस्य बनेका छन ।
अधिबेशनको एक शत्रमा सङ्घको आवधिक प्रकाशन गण्डक आलोक भाग- २ निबन्ध विशेषाङ्कको परिचर्चा गर्नुको साथै सङ्घका संस्थापक अध्यक्ष लोकबहादुर थापालाई गण्डक साहित्य पुरस्कारबाट सम्मानित गरियो ।
अधिवेशन उद्घाटन गर्दै सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इञ्चार्ज समीर सिंहले प्रगतिशील साहित्य आन्दोलनलाई साझा बनाउनुपर्नेमा जोड दिए उनले साहित्यकारले आफ्ना सिर्जनामा निखारता ल्याउनुपर्ने खाँचो औंल्याए । स्रष्टाले आफू कति प्रगतिशील भएँ भनेर समीक्षा गर्नुपर्ने उल्लेख गर्दै उनले नेपालको वामपन्थी आन्दोलनलाई चलायमान बनाउन प्रगतिशील लेखक सङ्घको भूमिका महत्त्वपूर्ण रहँदै आएको स्पष्ट पारे ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय महिला उपाध्यक्ष नमुना शर्मा, एमाले गण्डकीका सचिव धनञ्जय दवाडी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नारायण अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका सावित्रा दुरा, पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख डा.यमनाथ तिमिल्सिना, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष शङ्कर बराल, मार्क्सवादी अध्यययन स्रोत केन्द्रका अध्यक्ष झलकपाणि तिवारी, नेकपा (माओवादी केन्द्र) गण्डकीका शिवजी लामिछाने, नेकपा क्रान्तिकारी गण्डकी प्रदेशका सचिव नारायण अधिकारी, समीक्षकद्वय लोकबहादुर थापा र डा. भूमिराज बस्ताकोटी, वामपन्थी बुद्धिजीवी रामराज रेग्मी लगायतले प्रगतिशील लेखनको महत्वबारेमा चर्चा गरेका थिए ।
सङ्घका अध्यक्ष यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धुव्रलाल शर्माले स्वागत गरेका थिए भने कोषाध्यक्ष निर्मल सापकोटाले कार्यक्रम सञ्चालन गरेको पत्रकार श्रीभद्र पौडेलले जानकारी दिए ।
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य पगेनीलाई रुपा रत्न सम्मान
पाेखरा । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनी रुपा रत्न सम्मानबाट सम्मानित हुनुभएको छ। मंगलबार कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार पगेनीलाई दाेसल्ला र ताम्रापत्रसहित रुपा रत्न सम्मान २०८१ बाट सम्मानित गरेको हो ।
पत्रकारिता मार्फत रूपा र राष्ट्रलाई दिएकाे महत्वपूर्ण योगदान स्वरूप पगेनीलाई सम्मान गरिएकाे रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयाे ।
रुपा रत्न सम्मान २०८१ बाट सम्मानित पगेनी नेपाल पत्रकार महासंघकाे निर्वतमान केन्द्रीय सदस्य एवम् कानुन बिभाग प्रमुख समेत हुनुहुन्छ ।
पाेखरा पाेष्ट डटकमका संचालक/ सम्पादक पगेनी पत्रकारिताका साथै विभिन्न सामाजिक संघसंस्थावाट सम्मानित भईसक्नु भएको छ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा महिला संघ पाेखराकाे प्रशिक्षण एवम् सम्मान कार्यक्रम
पाेखरा। ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल महिला संघ पाेखरा महानगर कार्यसमितिले आयाेजना गरेकाे राजनीतिमा महिला सहभागिता सम्भावना र चुनाैती विषयक प्रशिक्षण एवम् सम्मान कार्यक्रम आईतवार पाेखरामा सम्पन्न भएकाे छ।
कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल महिला संघ कास्कीका संस्थापक अध्यक्ष शकुन्तला गुरुङले समाजकाे आधाभन्दा बढी स्थान ओगटेका महिलाहरुको समान सहभागिता विना समाजको विकास हुन नसक्ने बताउनुभयो ।राजनितीमा महिला सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै उहाँले आरक्षणका नाममा सक्षम र अवसर प्राप्त गर्न सक्ने भन्दा नयाँ र अवसर प्राप्त गर्न नसक्नेहरुलाई अवसर दिनुपर्नेमा जाेड दिनुभयो ।
कार्यक्रममा बाेल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोर दत्त बरालले राजनीतिमा आउनका लागि महिला स्वयं नै सक्षम र नेतृत्व विकास सीप भएको हुनुपर्ने बताउनुभयो ।कसैको लहैलहैमा नेता भईदैन भन्दै उहाँले आफ्नाे व्यक्तित्व निखार्दै समाजमा सुगन्ध छर्ने महिलालाई राजनीतिक दलले आफैं खाेज्ने बताउनुभयो ।
कार्यक्रममा बाेल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोर दत्त बरालले राजनीतिमा आउनका लागि महिला स्वयं नै सक्षम र नेतृत्व विकास सीप भएको हुनुपर्ने बताउनुभयो ।कसैको लहैलहैमा नेता भईदैन भन्दै उहाँले आफ्नाे व्यक्तित्व निखार्दै समाजमा सुगन्ध छर्ने महिलालाई राजनीतिक दलले आफैं खाेज्ने बताउनुभयो ।
नेपाल महिला संघ कास्कीका सभापति मीना पान्डेले राज्यका हरेक तहमा नेतृत्व लिन महिला एकजुट हुनुपर्ने बताउनुभयो ।नेपाली काँग्रेसले नै महिलाको हक अधिकारकाे सुनिश्चित गर्ने उहाँको भनाई थियाे।
कार्यक्रममा शान्ति ,न्याय र लाेकतन्त्रका लागि समाबेशी महिला संजाल गण्डकी प्रदेशका अध्यक्ष अधिवक्ता सरिता तिम्सिना पगेनीले राजनीतिमा महिला सहभागिता सम्भावना र चुनाैती विषयमा प्रशिक्षण दिनुभएको थियाे ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे, नेपालका मिलन थापालाइ सम्मान समेत गरिएको थियाे।

नेपाल महिला संघ पाेखरा महानगर कार्यसमितिका अध्यक्ष अम्विका ढुगाँनाकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन सचिव कल्पना थापाले गर्नुभएको थियाे भने धन्यवाद मन्तव्य उपाध्यक्ष सुधा थापाले गर्नुभएको थियाे।