पोखराको महेन्द्रपुलमा स्मार्ट शौचालय निर्माण हुने

पोखरा।  पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गर्नुभएको हो ।
शौचालयको शिलान्यास गर्दै प्रमुख आचार्यले पोखराको महेन्द्रपुलमा सुविधा सम्पन्न शौचालय निर्माण गर्न लागिएको बताउनुभयो । “यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, चमेनागृह सहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भेन्डर समेत समावेश हुनेछ ।” शौचालय कुनै पनि सुविधा सम्पन्न होटेलको बराबर हुने प्रमुख आचार्यले बताउनुभयो ।
उहाँका अनुसार शौचालयबाट निकाल्न सकिने ग्याँसको प्रयोगबाट चमेना गृह पनि सञ्चालन गरिने छ भने, त्यो टिपिकल नेपाली शैलीको हुनेछ । आसपासमा केही चौतारीहरू निर्माण गरिनेछन् । अधिकांश स्थान भने खुल्ला नै राखिने प्रमुख आचार्यले बताउनुभयो । शौचालयको आगामी २०८० को जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्ने गरी काम अगाडी बढाउन निर्देशन पनि दिनुभयो । नजिकै चोकमा हाइमास्ट लाइट समेत जडान भैसकेका रातिको समयमा पनि काम गर्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
पोखराको पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि उक्त स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवनहरू विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृह सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताउनुभयो ।
एनआरएनएका मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्द्धनको अभियानमा थप सहकार्यका लागि तयार रहेको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले आफूहरूको पूर्व प्रतिबद्धता अनुसार जनताका सामु गरिएको बाचा पुरा गर्न लागिएको बताउनुभयो । चुनावताका जनताका सामु आफूहरूले गरेका प्रतिवद्धताहरु पुरा गर्नु निर्वाचित जनप्रतिनिधिको कार्यभार भएको भन्दै अव एक एक गर्दै ती प्रतिवद्धताहरु पुरा गर्दै जाने विश्वास दिलाउनुभयो ।
एनआरएनएका कार्यकारी अध्यक्ष बद्री बहादुर केसीले विदेशमा जस्तै पोखरामा पनि सुविधा सम्पन्न अत्याधुनिक शौचालय निर्माण गरिने बताउनुभयो । एनआरएनए मुलुकको विकास र समृद्धिमा सारथि बन्न चाहेको बताउँदै उहाँले विदेशमा बगाएको नेपालीहरूको पसिनाको मूल्य पोखराको सार्वजनिक शौचालयमा लगानी गर्न लागिएको उहाँले बताउनुभयो ।
महेन्द्रपुलको उत्तर तर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुनेछ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ । करिब १ करोडको लागतमा निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च भने महानगरपालिका आफैले बेहोर्नेछ । पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।
महेन्द्रपुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने छ । त्यसको शिलान्यास आगामी वैशाख १ गते गरिनेछ । त्यहाँ संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९५ देश सहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको झन्डा समेत राखिनेछन् । पार्कको बिच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ । विशेष अवसरहरूमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गरिनेछ ।

पत्रकार महासंघको राष्ट्रिय मिडिया सम्मेलन  ९ बुँदे घाेषणा पत्र जारी गर्दै सम्पन्न

  नवलपरासी । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौँ बैठक नवलपरासीको रामग्राम र ‘राष्ट्रिय मिडिया सम्मेलन’ रुपन्देहीको लुम्बिनीमा सम्पन्न भएको छ । २०७९ चैत १६–१७ गते सम्पन्न केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित  गर्दै ९ बुँदे घाेषणा पत्र जारी गरेको नेपाल पत्रकार महासंघका महासचिव राेसन पुरीले जानकारी दिए। घोषणापत्र : १. नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारको साझा संगठनका रूपमा विकास गर्न सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउन यो सम्मेलन प्रण गर्दछ । सदस्यता शुद्धीकरणका लागि तयार मापदण्डलाई प्राप्त सुझावलाई समेटेर अन्तिमरुप दिने र प्रस्तावित तालिकाअनुसार नै काम गर्ने प्रतिवद्धता जनाउँदछ । २. पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेकाहरूलाई सदस्यता परित्यागका लागि यो सम्मेलन आग्रह गर्दछ । त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित विदाइ गर्ने र जनप्रतिनिधि, सरकारको पूर्णकालीन कर्मचारीको सदस्यता स्वतः समाप्त हुनेगरी काम थाल्न तीनवटै समितिलाई यो सम्मेलन निर्देश गर्दछ । ३. विधानको दफा ५ को उपदफा (८) अनुसार आउँदो महाधिवेशन भन्दा ६ महिना अगाडिसम्म कायम सदस्यले मात्रै महासंघको आउँदो चुनावमा मतदानमा भाग लिन पाउने व्यवस्थालाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । ४. नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरे पनि त्यसपछि गठन भएका तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउन बनाउनु पर्ने सञ्चार सम्बद्ध कानूनहरू नबनेकोप्रति नेपाल पत्रकार महासंघको यो सम्मेलन गम्भीर चासो र चिन्ता व्यक्त गर्दछ । नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितासहितको प्रेसमैत्री कानून निर्माणका लागि यो सम्मेलन पुनः माग गर्दछ । साथै, संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण गराउँदछ । राजनीतिक दललाई पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न आग्रह गर्दछ । ५. श्रमजीवी पत्रकार ऐनलगायतका विद्यमान कानूनअनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधालगायत प्राप्तिबाट श्रमजीवी पत्रकारहरू बञ्चित भइरहेका छन् । यो सम्मेलन ऐनको पूर्ण कार्यान्वयन, समय सापेक्ष न्यूनतम पारिश्रमिकको वृद्धि र तोकिएका सेवा सुविधाहरू पूर्ण कार्यान्वयनका लागि सरकार र सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछ । साथै दबाब, आन्दोलन र कानूनी उपचारलगायतका ट्रेड युनियन अभ्यासलाई थप प्रभावकारी बनाउने प्रण गर्दछ । ६. सञ्चारमाध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न माग गर्दै यो सम्मेलन स्थानीय सरकार मातहतको निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई र प्रदेश सरकार मातहतको विज्ञापनलाई प्रदेश अन्तर्गतका सञ्चारमाध्यममा दिनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछ । ७. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दै यो सम्मेलन पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा वृत्ति विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउने घोषणा गर्दछ । ८. गौतम बुद्धको जन्मस्थल लुम्बिनी, अस्तुधातू मध्येको एक अस्तुधातू रहेको नवलपरासीको रामग्राम, कपिलवस्तुको तिलौराकोट, बुद्धको मावली स्थल देबदह क्षेत्रको प्रचार प्रसार, सम्बर्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि लुम्बिनी बिकासको गुरुयोजना पूर्ण कार्यान्वयनका लागि सबै तहका सरकार तथा लुम्बिनी विकास कोषलाई यो सम्मेलन आग्रह गर्दछ । ९. नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको आतिथ्यता गर्ने महासंघ लुम्बिनी प्रदेश समिति र समन्वय गर्ने महासंघका रुपन्देही, कपिलवस्तु र अर्घाखाँची शाखा, महासंघको ८औँ केन्द्रीय समिति बैठकको आतिथ्यता गर्ने नवलपरासी शाखा साथै लुम्बिनी विकास कोष, सामाजिक सुरक्षा कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय, प्रेस काउन्सिल नेपाल र रुपन्देहीका स्थानीय तहलाई धन्यवाद ज्ञापन गर्दछ ।

एकल महिलाले जन्माएको र बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न  निर्देशन

  काठमाडौं । सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्तालगायत सरकारी कागजपत्र बनाउँन निर्देशन जारी गरेको छ ।गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएको हो । विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चाको जन्म दर्ता मावलीकै थर राखी आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ । त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने भनिएको छ । बाबुको ठेगाना पत्ता लागे सोही ठेगाना राखेर नयाँ जन्म दर्ता गर्ने समेत उल्लेख छ ।    

पशुचौपायामा लागु गरिएको खोप कार्यक्रम प्रभावकारी बन्दै

पोखरा । पशुचौपायामा लागु गरिएको खोप कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पशुमा लाग्ने रोग संक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागु गरिएको सो खोप कार्यक्रमले कास्कीका किसानहरु खुसी भएका छन् । गाई, भैसी, भेडा,बाख्रा, बङ्गुर लगायतका चौपायालाई सो खोप लगाउन थालिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा. शम्भुराज पाण्डेले जानकारी दिनुभएको छ । गण्डकी प्रदेश सरकारले २०७६÷७७ देखि पूर्ण खोप लगाउने व्यवस्था गरेको थियो । सो व्यवस्था अनुरुप गत बर्ष मात्र गाई, भैसी र बङ्गुरमा मात्र ९४ हजार ४ सय १ खोप लगाइएको थियो । गाइ भैसीमा नै हुने अर्को भ्याकुते र चरचरे गरी २६ हजार ३ सय ७१ खोप लगाईएको छ । बङ्गुरका स्वाईनफिबरका लागि झन्डै १५ हजार खोप लगाइएको छ । त्यसैगरी भेडा बाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेविज विरुद्धमा ६१ हजार भन्दा बढी खोप लगाइएको डा. पाण्डेले जानकारी दिनुभयो । सो कार्यालयले विभिन्न क्षेत्रमा गरी २ लाख १८ हजार ७ सय खोप लगाएको छ । सो खोप लगाउनका लागि प्राविधिक जनशक्तिको जटिलता रहेको उहाँको भनाई छ । खोप लगाउनको लागि गाउँगाउँमा किसान सचेत कार्यक्रम भइरहेको छ भने किसानहरुको सोस्र्फूत माग पनि बढिरहेको छ । खोपको बारेमा हेम्जा गाई फर्मका संचालक एवं किसान घनश्याम तिमिल्सिनाले खोप प्रभावकारी रहेकाले खोरेतको दुई पटक र अन्य खोप एक पटक लगाउने निति सरकारले अगाडी बढाउन आग्रह गर्नुभयो । यसैगरी कार्यालयका पशु बिकास अधिकृत सहदेव पौडेल पशुधनको क्षति न्युनिकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने बताउनुभयो । यसबर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भैसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको उहाँको भनाई थियो । त्यसैगरी भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको छ । महानगरपालिकाबाट प्राविधिक जनशक्ति अन्य पालिकामा पुगेपछि सबै किसिमका खोपहरु गाउँपालिकामा पुर्याउने पौडेलको भनाई छ । पूर्णखोप कार्यक्रमले किसानको पशुधनमा हुने क्षति निकै कम भएको पोखरा ३३ का किसान शोभाखर भण्डारीको भनाई रहेको छ ।