निर्मला पन्त हत्या प्रकरणः विष्टसँगै बम दिदीबहिनी पनि छुटे

२७ भाद्र २०७५, बुधबार

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा अभियुक्त बनाइएका दिलिपसिंह बिष्ट रिहा भएका छन् । बिष्टसँग बम दिदीबहिनी पनि रिहा भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । १४ वर्षीय रोशनी बमलाई साधारण तारेखमा छाडिएको छ भने दिदी १८ वर्षीय बबिता बमलाई ३० हजार धरौटीमा छाडिएको छ ।

प्रहरीले घटनाको २४ दिनपछि भदौ ४ गते बिष्ट नै घटनाका मुख्यअभियुक्त भनेर पक्राउ गरेको थियो । तर प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि तत्कालिन प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी केन्द्र तानिएका थिए ।

गत साउनको दोस्रो साता १३ वर्षीया पन्तको शव साथी रोशनीको घरमा गएको भोलिपल्ट हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

‘निर्मलाको डिएनएको प्रोफाइल तयार भएको छ । उनको शरिरमा भेटिएको अपराधीको डिएनएसँग बिष्टको डिएनए मिलेन । त्यही भएर विष्टलाई रिहा गर्ने निर्णय भएको हो,’ जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

Leave a Reply