असोज ३ गते ‘ब्ल्याक आउट’ गर्न राजपा नेपालले जिल्लामा पठायो यस्तो सर्कुलर

२७ भाद्र २०७५, बुधबार

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसको दिन असोज ३ गते मधेसमा ब्ल्याक आउट गर्ने निर्णय गरेको छ ।

संविधान जारी भएको दिनको सम्झनामा सरकारले असोज ३ गते संविधान दिवस बनाउने निर्णय गरेको छ । तर, राजपा नेपालले सो दिन कालो दिनको रुपमा मनाउने निर्णय गर्दै विरोध प्रदर्शन र विरोध सभा गर्ने समेत निर्णय गरेको हो ।

दुई दिनसम्म चलेको राजपा अध्यक्ष मण्डलको बैठकले असोज ३ गते साँझ सात वजेदेखि सात १७ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने निर्णय भएको पार्टीका संयोजक महन्थ ठाकुरले रातोपाटीलाई जानकारी दिए ।
साथै, पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै प्रदेश, जिल्ला तथा स्थानीय तहमा पार्टीको बैठक राख्न  सर्कुलर समेत पठाएको छ ।

राजपा नेपालको बैठकले जिल्लालाई पठाएको सर्कुलरमा भनिएको छ–निर्वाचित जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका, वार्डस्तरका सबै प्रमुख र सदस्यहरुसँग अन्तरक्रियात्मक बैठक गर्ने र उनीहरुबाट नियमिति र मासिक लेवी बारे छिट्टै केन्द्रबाट निर्णय गर्ने ।’

पार्टीका सबै सदस्यले राजपा नेपालको साधारण सदस्यता ग्रहण गर्नुपर्ने उल्लेख गर्दै पार्टीको प्रथम महाधिवेशन प्रयोजनका लागी अभिायनका रुपमा सञ्चालन हुने सदस्यता वितरण अभियानमा विगतमा राजपा नेपालको सदस्यता ग्रहण गरिसकेका नेता कार्यकर्ताहरुले समेत महाधिवेशनका लागि नयाँ सदस्यता लिन पनि निर्देशन दिएको छ ।

जिल्लाभन्दा तलको संगठनमा अध्यक्ष मण्डलको व्यवस्था नभएकाले गाउँ, टोल, वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरका तदर्थ संगठनहरुमा एकल अध्यक्षीय प्रणाणी बनाउन पनि सर्कुलरमा उल्लेख छ ।

Leave a Reply