लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउन पाइदैन , नेता केसी

१४ आश्विन २०७५, आईतवार

म्याग्दी, असोज १५ सरिता तिम्सिना पगेनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउन नपाइने बताएका छन । आइतबार नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा  बताएका हुन् ।
सरकारले पत्रकारको अधिकारमा हस्तक्षेप गरेको भन्दै उनले  विभिन्न विचारमा आस्था राखे पनि पत्रकारहरु आफ्नो पेशागत सुरक्षा र हक अधिकारका लागि एक भएर अगाडि बढ्नुपर्ने मा जोड दिए। उनले  राजनीति नभनी पेशागत रुपमा एक हुन पत्रकारलाई आग्रह गरे ।  लोकतन्त्र प्राप्तिका लागि सञ्चार जगत्ले ठूलो योगदान गरेको भन्दै  उनले ,लोकतन्त्रमा कसैमाथि नियन्त्रण गर्न नहुने बताए ।
नेता केसीले व्यक्ति स्वतन्त्रता, उसको अभिव्यक्ति स्वतन्त्रता, जीवनको सुरक्षा र संरक्षण लोकतन्त्र भएको जिकिर गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि सोच्नुपर्ने बताए । उनले लोकतन्त्र भनेको वाद, प्रतिवाद र संवादको प्रक्रिया भएको बताउँदै पत्रकारिताको स्वतन्त्रताका लागि नेपाली कांग्रेस सधैं लागिपर्ने बताएका थिए । हालै लागू भएको मुलुकी ऐनमा समावेश देवानी संहिताले पत्रकारलाई पनि नियन्त्रणमा राख्न खोजेको हुँदा संशोधनका लागि पहल गर्नुपर्ने बताए ।
पूर्वमन्त्री समेत रहेका केसीले पछिल्लो समय देशैभर महिला हिंसा र बलात्कारका घटनाहरु बढ्दै गैरहेको अवस्थामा शान्तिसुरक्षा कमजोर रहेको बताउँदै निर्मला पन्त बलात्कार र हत्याको छानबिन आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक नहुनुको कारण के हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, बढ्को महङ्गी र स्थानीय सरकारले लगाएको करले जनताको ढाड सेकेको भन्दै उनले वर्तमान सरकारको कडा आलोचना गरेका थिए । लोकतान्त्रिक प्रक्रियामा हारजित भैरहने हुँदा आगामी पाँच वर्षपछि नेपाली कांग्रेसले चुनावमा जित हासिल गर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने बताउँदै पत्रकारिताको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले देवानी संहिताको विरुद्धमा पत्रकार महासंघ आन्दोलनमा उत्रिएकाले यसलाई सच्याउनुपर्ने बताएका छन् ।
कार्यक्रममा पूर्व सांसद रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, प्रेस युनियनका केन्द्रीय सदस्यद्वय श्रीकान्त पौडेल, दिलिप पौडेल, तरुण दलका जिल्ला अध्यक्ष मुकुन्द छन्त्याल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य सन्तोष गौतम, नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुवेदी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
। यसैबीच अधिवेशनको अवसरमा परोपकारी पत्रकारितामार्फत जिल्लाको सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमलाई प्रेस युनियन पत्रकारिता पुरस्कार–२०७५ बाट सम्मान गरिएको छ ।

सोही अवसरमा म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित भरालेका सुकुम्वासी सीता बानियाँको परिवारलाई नगद ३१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । हाल पोर्चुगलमा रहेका नेपाली कांग्रेस जनसम्पर्क समितिका प्रथम उपाध्यक्ष वकिल केसीले २५ हजार र तिलक घिमिरेले उपलब्ध गराएको ६ हजार रुपैयाँ सहयोग गरिएको प्रेस युनियनले जनाएको छ । कार्यक्रम नेपाल प्रेस युनियन म्याग्दीका कार्यवाहक अध्यक्ष निर्मल खत्रीको अध्यक्षता, केन्द्रीय पार्षद हरिकृष्ण गौतमको स्वागत र जिल्ला सदस्य राकेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो

Leave a Reply