‘७० प्रतिशत हिंसाको कारक मदिरा’ नियन्त्रणमा जुट्नु जरुरी

२७ आश्विन २०७५, शनिबार

 

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताएका छन्। गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा उनले विकास र समृद्धिको बाधक हिंसा निस्तेज बनाउन जरुरी रहेको बताए।“सबै प्रकारका अपराध निस्तेज नगरेसम्म समृद्ध नेपाल निर्माण हुनसक्दैन”,उनले भने।
गृहमन्त्री थापाले विकास समृद्धि, सुशासन र शान्तिको उच्चतम अवस्था समाजवादको लक्ष्य पूरा गर्न सरकार र जनता एकजुट हुनुपर्ने बताए। “मुलुकमा अझैसम्म पनि अशान्ति र द्वन्द्व निम्त्याउने तत्व सक्रिय भइरहेका छन्, त्यसतर्फ हामी सजग हुनुपर्छ”, गृहमन्त्री थापाले भने।
उनले ७० प्रतिशत हिंसाको कारक मदिरा नियन्त्रणमा जुट्नु जरुरी रहेको उल्लेख गरे। हिंसा रोक्न स्थानीयस्तरबाटै जनता परिचालन गरेर आन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले मदिरा नियन्त्रणका लागि वडामा कति पसल सञ्चालन गर्ने र कुनकुन समय बिक्रीवितरण गर्ने भन्नेबारे स्थानीय क्षेत्रले योजना बढाएर अगाडि बढ्नुपर्छ भने। गृह मन्त्रालयका सहसचिव नारायण शर्मा दुवाडीले लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा निवारणका लागि मन्त्रालयले गरिरहेको कामका बारेमा जानकारी दिएका थिए।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजमा हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तह र प्रहरी सँगसँगै हुनुपर्ने बताए। “हिंसा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रमा सिसी क्यामरा जडान गरेको छ”,उनले भने।
उनले महानगरपालिका काठमाडौँ क्षेत्रमा भएको जथाभावी पार्किङ हटाउन र ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपत्यकामा मदिरा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले गरिरहेको काम र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी दिएका थिए। सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तिले महिला तथा बालबालिका हिंसा, लागुऔषध र मदिरा नियन्त्रणका लागि आआफ्नो रायसुझाव दिएका थिए। रासस

Leave a Reply