सुनको कारोवारमा कमी

६ कार्तिक २०७५, मंगलवार

पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो वर्ष घटस्थापनादेखि फूलपातीसम्म सुनको दैनिक माग करीब ५० किलो भए पनि सोहीअनुसारको आपूर्ति भई सन्तुलन कायम भएको थियो । अहिले सोही समयमा बजारमा सुनको मागभन्दा आपूर्ति अत्यधिक रहेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढेको तथा नेपाली रुपियाँको अवमूल्यन हुँदै गएकाले पनि सुनको मूल्य निरन्तर बढेको छ । यसको मूल्य क्रमिक रुपमा बढेका कारण सर्वसाधारणको पनि आकर्षण घटेको पाइएको छ ।
यस वर्ष बडादशँैको अवधिमा रत्न तथा आभूषणको कारोवार पनि अघिल्लो बडादशैँको तुलनामा ४० प्रतिशतले कम भएको नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष ज्योत्स्ना श्रेष्ठले जानकारी दिनुभयो । बजारमा छापावाला सुन प्रतितोला रु ६० हजार कायम भई आज कारोवार भएको छ । गत बडादशैँमा भने सोको प्रतितोला रु ५४ हजारमा कारोवार भएको थियो ।

Leave a Reply