एयर एशिया, बक्यौता नतिरी सेवा बन्द

१२ कार्तिक २०७५, सोमबार

मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको १३ करोड रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ ।
काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एशियाले यात्रुको अभाव रहेको भन्दै गएको असोज २७ गतेदेखि उडान स्थगन गरेको हो ।
कम्पनीले एक वर्षका लागि काठमाडौँ गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । एयर एशियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई  १३ करोड बक्यौता तिर्न बाँकी छ ।
यो विलम्ब शुल्क हो ।
कम्पनीले हालसम्म करीब ३० करोड रकम बुझाइसकेको विमानस्थलले जनाएको छ ।
एयरलाइन्सले अवतरण (ल्याण्डिङ), पार्किङ (विशौनी), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतमा बक्यौता तिर्नुपर्नेछ ।
एयर एशियाले वाइड बडी ए ३३० बाट दैनिक उडान भर्दै आएको थियो । बाँकी बक्यौता तिर्नका लागि नेपालस्थित मलेसियाली राजदूतावासले पहल गर्ने आश्वासन दिएको छ ।
एयर एशियाले नेपाल पर्यटन बोर्डलाई सात करोेड २३ लाख बक्यौता तिर्न बाँकी छ । कम्पनीले पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ ।

Leave a Reply