नेपाल–प्यालेस्टाइनबीचको खेल शनिबार

0
652
The Nepali national football team pose for a photo before the internatioanl friendly match againt Bangladesh kicked-off at the Bangabandhu Stadium on Thursday, December 17, 2015. Photo: ANFA

डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो खेलमा शनिबार प्यालेस्टाइनसँग प्रतिष्पर्धा गर्दैछ ।

बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न शनिबारको खेल जित्नै पर्नेछ ।

शनिबार बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा साँझ ६ः१५ बजे शुरु हुने खेलमा नेपाल सेमिफाइनलमा पुग्न प्यालेस्टाइनलाई २–० गोलभन्दा बढीको अन्तरमा पराजित गर्नुपर्नेछ ।

अघिल्लो खेलमा तीन डिफेन्डर घाइते भएपछि नेपाल थप दबाबमा छ । ताजकिस्तानविरुद्धको खेलमा नेपालका कप्तान विराज महर्जन, अनन्त तामाङ र आदित्य चौधरी घाइते भएका थिए । उनीहरु तीनैजना प्यालेस्टाइनविरुद्धको खेलमा मैदान बाहिरै रहने छन् ।

समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो ।

यसअघि प्यालेस्टाइनले बिहीबार भएको आफ्नो पहिलो खेलमा ताजकिस्तानलाई २–० गोलले हराएको थियो । यो अवस्थामा नेपाललाई सेमिफाइनल पुग्न प्यालेस्टाइनलाई कम्तीमा २–० गोलले हराउनुपर्ने बाध्यता छ ।

समूह ‘ए’मा रहेको नेपालले शून्य अङ्क हुँदा प्यालेस्टाइन र ताजकिस्तानको समान तीन तीन अङ्क रहेको छ । प्यालेस्टाइनसँग बराबरी मात्र भए नेपाल समूह चरणबाटै बाहिरिनेछ । नेपालले प्यालेस्टाइनलाई २–० गोलले हराए समूहका तीन टिमकै समान तीन÷तीन अङ्क हुनेछ । यस्तो अवस्थामा फेयर प्ले वा टस गरेर अन्तिम चारमा पुग्ने दुई टोलीको छिनोफानो हुनेछ ।

फिफा बरियतामा नेपालभन्दा निकै माथि रहेको प्यालेस्टाइनलाई पराजित गर्न नेपाललाई कठिन हुने देखिन्छ । नेपाल १६० औँ स्थानमा रहँदा प्यालेस्टाइन एकसयौँ स्थानमा छ ।

नेपाल र प्यालेस्टाइनबीच पछिल्लो पटक सन् २०१२ को एएफसी च्यालेन्ज कपमा प्रतिस्पर्धा भएको थियो । दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई प्यालेस्टाइनले २–० गोलले हराएको थियो ।

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ तथा अन्जन विष्ट छन् । रासस