पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

२२ आश्विन २०७५, सोमबार

काठमाडौँ, २२ असोज आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितालाई आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ ।

पिपिएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसिसीले पिपीएललाई मान्यता दिएको जानकारी दिनुभयो ।

आइसिसीको मान्यता पाएपछि अब पिपीएलको आयोजकले आइसिसीलाई २० हजार अमेरिकी डलर रकमसमेत बुझाउनुपर्नेछ ।

“हामीले प्रतियोगिता सञ्चालनको लागि आइसिसीमा पत्र पठाएका थियौँ, आइसिसीले हामीलाई मान्यता दिएको छ”–आइसिसीको पत्र सार्वजनिक गर्दै प्रबन्ध निर्देशक लामाले भन्नुभयो ।

पिपीएलले नेपालको क्रिकेट विकासमा सहयोग तथा नयाँ खेलाडीको प्रतिभा पहिचानमा समेत मद्दत पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको लामाको भनाइ छ ।

यसअघि प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ ।

प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यावसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् ।

त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् ।

बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यावसायिको युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी रहेका छन् ।

पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर रहेका छन् ।

एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छ्न । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन् ।
–––

Leave a Reply