पोखराको चीनमा प्रचारप्रसार गरिदिन आग्रह

१५ कार्तिक २०७५, बिहीबार

 

नेपाल भ्रमणमा रहेको चिनियाँ पत्रकार टोलीले पोखराका विभिन्न स्थानको भ्रमण गरेका छन् । चिनियाँ पत्रकार सङ्घका महासचिव पाङ ग्याङ नेतृत्वमा आएको सात सदस्यीय टोलीले पोखरा भ्रमणसँगै पोखरा महानगर प्रमुख मानबहादुर जिसीसँग आज साँझ भेट गरेको छ ।
भेटमा महानगर प्रमुख जिसीले विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक पोखराको चीनमा प्रचारप्रसार गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पोखरा विश्वकै उत्कृष्ट १० शहरमध्ये पर्छ । यसको अवर्णित सुन्दरतालाई यहाँहरुले प्रचार गरिदिनुहोला ।”
जिसीले चीनका आठ शहरसंँग पोखरा महानगरपालिकाले भगिनी सम्बन्ध स्थापना गरेको जानकारी दिँदै पत्रकारको भ्रमणले अझै सम्बन्ध सुमधुर राख्न भूमिका खेल्ने बताउनुभयो ।
चिनियाँ पत्रकार सङ्घका कार्यकारी महासचिव पाङ ग्याङले चीन र पोखराको पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै आउने दिनमा अझै प्रगाढ बनाउन आफूहरुले भूमिका खेल्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नेपाल र चीनका पत्रकारबीचको सम्बन्ध र सहयोगलाई निरन्तता दिन दुवै देशका पत्रकारबीच भ्रमण भैरहेको बताउनुभयो ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले चिनियाँ र नेपाली पत्रकारबीच भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै दक्षता अभिवृद्धिमा सहकार्य गर्ने टोलीको भ्रमणको उद्देश्य रहेको बताउनुभयो

Leave a Reply