पाकिस्तान र बङ्गलादेश फाइनलमा

१५ कार्तिक २०७५, बिहीबार

कुमार चौलागाईँ
बङ्गलादेश र पाकिस्तान साफ यू–१५ फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।

ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा आज भएको पहिलो सेमिफाइनलमा अघिल्लो संस्करणको विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा भारत पराजित भएको हो । खेलको १७ औँ मिनेटमा पट्रेहर्स हैलेसले गोल गर्दै भारतलाई अग्रता दिलाए पनि खेलको अतिरिक्त समयमा भारतका खेलाडीले बङ्गलादेशका खेलाडीलाई लडाएपछि बङ्गलादेशले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीमा आशिकुर रहमानले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा बङ्गलादेशले भारतलाई ४–२ ले हराएर फाइनल पुग्यो ।

आजै भएको दोस्रो सेमिफाइलमा नेपाललाई ४–० गोलले पराजित गर्दै पाकिस्तान फाइनलमा पुगेको छ । सोही मैदानमा भएको खेलमा पहिलो हाफमा पाकिस्तानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । दोस्रो हाफमा १० खेलाडीमा सीमित बनेको नेपालले खेलको ५३ औँ मिनेटमा पहिलो गोल खाएको थियो । इफ्तिखर अहमेदले गोल गर्दै पाकिस्तानलाई शुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि पाकिस्तानले लगातार दुई पेनाल्टी पायो । खेलको ५९औँ मिनेटमा नेपालका जान लिम्बूले पाकिस्तानीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा मोबिह उल्हाले गोल गर्दै पाकिस्तानलाई २–० को अग्रता दिलाए । यस्तै जानले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भयो ।

खेलको ६९ मिनेटमा पाकिस्तानले पुनःपेनाल्टी पायो । नेपालका निवास फुयाँलले लडाएपछि पाएको पेनाल्टीमा पाकिस्तानका उल्हाले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । खेलको ७८औँ मिनेटमा मोइन अहमेदले थप एक गोल गर्दै पाकिस्तानलाई ४–० को जीत दिलाए ।

नेपालले अब तेस्रो स्थानका लागि भारतसँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ । सोही दिन उपाधिका लागि बङ्गलादेश र पाकिस्तान भिड्नेछन् । सन् २०१३ देखि आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको थियो । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । प्रतियोगिताका चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो ।

Leave a Reply