के तपाइ शिक्षक,कर्मचारी वा बिश्वबिद्यालयका प्राध्यपाक हुनुहुन्छ ?हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस ।

१७ कार्तिक २०७५, शनिबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ  ।
मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुसी प्रयोग गर्न रोक लगाएको हो । कात्तिक १३ गते स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रूपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्बिरसमेत सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ ।
त्यस्तै, कुनै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सहभागीले मोबाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने भनिएको छ ।
शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल प्रयोग र अनुगमनको जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ । शिक्षकलाई कक्षाकोठामा पढाइमा असर पुग्ने गरी मोबाइल फोन प्रयोग नगर्न भनिएको छ । मार्गनिर्देशनमा उल्लेख भएविपरीत कार्य गर्ने शिक्षक–कर्मचारीलाई कारबाही गर्न मन्त्रालयले सम्बन्धित निकायलाई सिफारिस गर्ने शिक्षा सचिव बरालले बताए ।
कुनै कारणवश खिचेमा स्वीकृति नलिई सामाजिक सञ्जालमा राख्न, टिप्पणी गर्न र लाइक गर्नसमेत रोक लगाइएको छ । क्यामेराले फोटो खिच्न पाइने वा नपाइने विषयमा भने मार्गनिर्देशन मौन छ । बिनाअनुमति अपलोड, टिप्पणी, लाइक र सेयर गरे प्रतिलिपि अधिकार र व्यक्तिगत गोपनीयताको हकविरुद्ध कार्य गरेको भनी आवश्यक कारबाही अघि बढाउने मन्त्रालयले चेतावनी समेत  दिएको छ ।

Leave a Reply