रोमान्चक पीपीएल : पोखरा फाइनलमा, चितवन र काठमाडौंले प्ले अफ खेल्ने

१७ कार्तिक २०७५, शनिबार

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो चरणमा पुग्ने टोलीको टुङ्गो लागेको छ । शनिबार लिग चरणको अन्तिम दुई खेल सकिएसंगै पीपीएलको दोस्रो चरण पुग्ने तीन टोलीको तय भएको हो ।

शनिबार भएको पहिलो खेलमा पोखरा पल्टनले हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले हराएको थियो । यस्तै अन्तिम खेलमा चितवन राइनोजले विराटनगर टाईटन्सलाई ४ विकेटले नै हराएको थियो ।

जितसंगै शरद भेषवाकरको पोखरा शीर्ष स्थानमा रहेर फाइनल पुगेको छ ।  पारस खड्काको चितवन दोस्रो र ज्ञानेन्द्र मल्लको काठमाडौंले तेस्रो स्थानमा रहेर एलिमिनेटर (प्लेअफ) मा स्थान बनाएका छन्  ।

दिपेन्द्र सिंह ऐरीको एक्स्पर्ट धनगढी ब्लुज, सोमपाल कामीको बुटवल ब्लास्टर्स र सन्दीप लामिछानेको विराटनगर भने प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएको छ  ।

पीपीएलमा शीर्ष टोलीले सिधै फाइनल खेल्ने र तेस्रो तथा चौथो टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नुपर्ने नियम रहेको थियो । यस्तो अवस्थामा अन्तिम दिनसम्म फाइनल र प्ले अफ पुग्ने टोलीको टुङ्गो लागेको थिएन ।

फाइनल र प्ले अफ समीकरण अन्तिम दिनसम्म रोमान्चक मोडमा पुगेको थियो ।अन्तिम दिनको दुई खेल बाँकी रहदा सहभागि ६ वटै टोलीको फाइनल र प्ले अफ पुग्ने सम्भावना रहेको थियो ।

शनिबारको खेलपछि पोखराले ५ खेलबाट ३ जित र दुई हार व्यहोर्दै ६ अंक जोड्यो । र, पोखराले नेट रन रेटको आधारमा शीर्ष स्थान हात पार्यो । शीर्ष स्थान हात पारेसंगै प्रतियोगिता नियम अनुसार मंगलबार हुने फाइनलमा स्थान पक्का गर्यो ।

यस्तै विराटनगरलाई हराएसंगै चितवनले ५ खेलबाट ३ जित र दुई हारसंगै ६ अंक नै जोड्यो । तर, चितवन नेट रन रेटमा पोखरा भन्दा पछि रह्यो । जसको कारण चितवनले प्ले अफ खेल्नु पर्यो ।

अब चितवनले आइतबार प्ले अफमा काठमाडौंसंग खेल्नेछ । अन्तिम खेलमा पराजित भएपनि काठमाडौंले ५ खेलबाट ६ अंक नै जोड्यो । र, एक्स्पर्ट धनगढीभन्दा नेट रन रेटमा माथि रहदै काठमाडौंले प्ले अफमा स्थान बनाउन सफल भयो ।

यता, ५ खेलबाट ६ अंक जोडेर पनि चौथो स्थानमा रहदै धनगढी प्रतियोगिताबाट बाहिरियो । यस्तै सुरुवातमा लगातार दुई जित निकालेको बुटवलले ५ खेलबाट ४ अंक जोड्दा प्लेअफ यात्रा तय गर्न सकेनन्  । सुरुवातबाटै खराब लयमा देखिएको विराटनगर ५ खेलबाट २ अंक जोडेर अन्तिममा रहदै प्रतियोगिता सकाएको छ ।

Leave a Reply