पीपीएल क्रिकेट: चितवन र काठमाडौं आज भिड्दै, फाइनल पुग्ने लक्ष्य

१८ कार्तिक २०७५, आईतवार

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल प्रवेशको लागि एलिमिनेटर (प्ले अफ) खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने प्ले अफमा पारस खड्काको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । बिहान ११ बजेबाट सुरु हुने खेलको विजेता टोलीले फाइनल यात्रा तय गर्नेछन् । यस्तोमा प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।

पहिलो चरण रोमान्चक बनेको पीपीएलमा चितवन लिगको दोस्रो र काठमाडौं तेस्रो हुँदै प्ले अफमा छनोट भएको हो । लिगको पहिलो चरणको पाँच खेलमा ३ जित र २ हारसहित चितवन र काठमाडौंले समान ६/६ अंक जोडेका थिए । तर, नेट रन रेटको आधारमा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहेको थियो ।

विजेताले मंगलबार हुने फाइनलमा घरेलु टोली पोखरा पल्टनसंग खेल्नेछ । पोखरा ५ खेलबाट ३ जित र २ हारसहित ६ अंक जोडेपनि शीर्ष स्थानमा रहदै फाइनलमा पुगिसकेको छ ।

चितवन र काठमाडौंलाई नेट रन रेटमा पछि पार्दै पोखराले फाइनलमा स्थान बनाएको हो । पीपीएलमा शीर्ष टोलीले सिधै फाइनल खेल्ने र तेस्रो तथा चौथो टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नुपर्ने नियम रहेको छ ।

चितवन र काठमाडौंबीचको प्ले अफ खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । किनकी दुवै टोली उच्च लयमा देखिएका छन् ।

सुरुवातमा जम्न नसकेको चितवन पछिल्लो समय लयमा रहेको छ । सुरुवाती २ खेल गुमाएको चितवनले त्यसपछि लगातार ३ खेलमा जित निकाल्यो । लिग चरणमा काठमाडौंलाई पराजित गरेको चितवन थप उच्च मनोबलसहित मैदान उत्रनेछन् ।

यता, काठमाडौंले भने लिग चरणको हारको बदला लिंदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । पछिल्लो खेलमा खेलाडीहरु लयमा देखिनु काठमाडौंको राम्रो पक्ष रहेको छ ।

Leave a Reply