पिपिएल उपाधि भिडन्त : पारस खड्का भर्सेस शरद भेषवाकर

१९ कार्तिक २०७५, सोमबार

पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत उपाधिका लागि मंगलबार घरेलु टिम पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। खेल पोखरा क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ।

शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टन लिग चरणको शीर्ष स्थानमा रहदै सिधै फाइनलमा प्रवेश गरेको हो। पारस खड्काको नेतृत्वमा रहेको चितवनले एलिमिनेटरको खेलमा हुलास काठमाडौं रोयल्समाथि ६ विकेटको जित निकालेर फाइनलमा पोखरासँगको उपाधि भिडन्त पक्का गरेको हो।

फाइनलअघि आयोजकले पोखराको सारांकोटमा पत्रकार सम्मेलन आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा दुवै टिमका कप्तानले आफ्नो उद्देश्य उपाधि जित्ने रहेको र त्यो पूरा हुन अब एक कदम बाँकी रहेको प्रतिक्रिया दिएका छन्।

फाइनलअघि दुवै टिमका कप्तानले दिएको प्रतिक्रिया :

पारस खड्का – चितवन राइनोज 
दुई राम्रा टिम फाइनलमा पुगेका छन्। भोलिको खेल एकदमै प्रतिस्पर्धा हुनेछ र सबैले मजा लिनु हुनेछ भन्नेमा आसावादी छु।

पोखरामा  क्रिकेटप्रति पाएको प्रतिक्रियाले एकदमै खुसी लागेको छ। नेपाली क्रिकेटका लागि राम्रो कुरा के हो भने नयाँ ठाँउमा माहोल ल्याउन सकेका छौं।

पोखराविरुद्ध राम्रो क्रिकेट खेल्न पर्नेछ। हामीले पछिल्ला चार खेल राम्रो खेलेका थियौ। फाइनलमा पनि त्यस्तै खेलको अपेक्षा छ। पहिला के भएको थियो भन्दा पनि हामी फाइनलमा के गर्न सकिन्छ भन्ने योजना बनाइरकेका छौं।

शरद भेषवाकरको टिमसँग फाइनलमा खेलिरहन संयोग जस्तो हो। अरु टिमले पनि राम्रो गरिरहेका छन्। अरु बेला हामी एकै टिमबाट खेलिरहेका छौं।

चितवन टिम उत्साहित छ। हामी उपाधि जित्नलाई आएका थियौं। अब त्यो पूरा हुन एक कदम बाँकी छ। राम्रो क्रिकेट खेलेर उपाधि चितवन लान शतप्रतिशत योगदान दिनेछौं।

शरद भेषवाकर-  पोखरा पल्टन 
हाम्रो जुन उद्देश्यका लागि प्रतियोगिता खेलेका थियौ त्यो पूरा हुन अब एक कदम बाँकी छ।

हाम्रो टिमका खेलाडीहरु भाग्यमानी छन् किनकी सबैले होम टिमका लागि खेल्न पाएका छौं। हाम्रो लागि सबै जना मैदानमा आएर झण्डा बोकेरa चियरअप गरिरहनु भएको छ। यो हाम्रो लागि फाइदाजनक कुरा हो। यसले हामीलाई उत्साहित बनाएको छ।

हामीले रिजल्टको बारेमा सोच्नु भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा सोच्ने हो।

पारससँगको टिमसँग फाइनल खेलेपनि यो अन्य खेल जस्तै हो। टिम वातावरण राम्रो छ। हामीले एकै प्रकारको क्रिकेट खेलिरहेका छौं। फाइनलमा पनि त्यस्तै खेल्ने आसा छ।

Leave a Reply