जो हाँस्छ त्यही मात्र बाँच्छ : मुन्द्रेको कमेडी

२० कार्तिक २०७५, मंगलवार

 

काठमाडौँ , “बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही मात्र बाँच्छ ।”

हाँस्य कलाकार जितु नेपालले यही उद्गारका साथ ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ आरम्भ गरेसँगै नेपाल टेलिभिजनको लोकप्रियता थप बढेको छ । ‘स्याण्ट अप’ कमेडीका रुपमा लिइने यस्ता कार्यक्रमले पछिल्लो समयमा दर्शक तान्न थालेपछि समाचार तथा लोकप्रिय हास्य एवं पारिवारिक शृङ्खलाका कार्यक्रममा अगुवाइ गरिरहेको नेपाल टेलिभिजनले सोमबारदेखि ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ शुरु गरेको हो । भारतमा ‘द कपिल शर्माको शो’ जस्तै नेपाली स्वादको ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ ले नेपालमा लोकप्रियता पाउने देखिएका छ ।

हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने कार्यक्रमको पहिलो शृङ्खलामा छक्कापञ्जा ३ चलचित्रबाट लोकप्रियता कमाइरहेका कलाकार दीपकराज गिरी, दीपाश्री निरौलालगायतलाई आमन्त्रण गरी जितुले दर्शकलाई हसाउनुभएको थियो । हाँस्य कलाकारिताका क्षेत्रमा जितुलाई मुन्द्रे उपनामले दर्शकले चिन्छन् । सो कार्यक्रमलाई ग्रामीण भेगाका दर्शकले विशेष मन पराएको र सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आइरहेको नेपाल टेलिभिजनका कार्यक्रमतर्फका नायब महाप्रबन्धक दीपा गौतमले जानकारी दिनुभयो ।

‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘परिचय’ जस्ता पुराना लोकप्रिय हास्य तथा पारिवारिक शृङ्खला कार्यक्रमको निरन्तरता दिँदैलगायत यो नयाँ कार्यक्रम सञ्चालन गर्दै आफ्नो लोकप्रियतालाई कायम राख्ने आफूहरूको योजना रहेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले बताउनुभयो ।

सो टेलिभिजनले नृत्य प्रतिभालाई प्रष्फुटन गर्न साङ्गीतिक रियालिटी शो छमछमी चार कार्यक्रमको अडिसन प्रारम्भ पनि यही कात्तिक १७ गतेबाट गरेको छ । सो कार्यक्रमको अडिसन संविधान दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गर्नुभएको थियो ।

Leave a Reply