सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस् भन्ने शुभकामना छ : डा कोइराला

२० कार्तिक २०७५, मंगलवार

 

पोखरा,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।

काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकलाई विकसित र समृद्ध बनाउन पार्टी–पार्टीबीच सौहार्दता हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिले सरकार स्थिर छ तर, राजनीतिक अस्थिरता कायम रहेकाले यसलाई अन्त्य गरी सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस्् भनी शुभकामना दिनुभयो ।

मुलुकमा सुशासन, पारदर्शिता, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्नुपर्ने उल्लेख गर्दै उहाँले यसका लागि सहमति, सहकार्य र एकता आवश्यक छ भन्नुभयो ।

सङ्घीयता अब हट्न नसक्ने र यसलाई सफल बनाउने जिम्मेवारी सबैको रहेको भन्नुहुँदै डा कोइरालाले सङ्घीय सरकारलाई छिटोभन्दा छिटो कानून बनाएर प्रहरी, प्रशासनको जिम्मेवारी प्रदेश सरकारलाई दिन आग्रह गर्नुभयो ।

Leave a Reply