पुलिस र मछिन्द्रले अंक बाडे

२ मंसिर २०७५, आईतवार

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार भएको पहिलो खेलमा पुलिस र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाएको मौकामा गोल गर्न नसक्दा दुवै टोलीले बराबरी खेलेका हुन् । लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको पुलिसविरुद्ध मछिन्द्रले अंक खोसेको हो ।

 

बल पोजिसनमा पकड जमाएपनि पुलिसले गोल गर्न सकेनन् । खेलको ३२ औ मिनेटमा पुलिसका अभिषेक रिजालले हानेको प्रहार मछिन्द्रका गोलकिपर दिप कार्कीले बचाएका थिए ।

 

खेलमा म्यान अफ दि म्याच मछिन्द्रका विकास राई चुनिए ।

यो बराबरीसंगै पुलिस क्लबले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा पुलिसले जावलाखेललाई पराजित गरेको थियो ।

मछिन्द्रसंग बराबरी खेलेपछि पुलिसका प्रशिक्षक अनन्त राज थापाले खेलाडीले राम्रो खेलको तर गोल हुन नसकेको बताए ।

‘खेलाडीले राम्रो खेलेका हुन् । मैले बनाएको रणनीति अनुसार केटाहरुले खेले,’ थापाले भने, ‘स्कोर गर्न नसक्नु आजको समस्या भयो ।’

 

लिगमा मछिन्द्रको यो दोस्रो बराबरी हो । पहिलो खेलमा मछिन्द्रले च्यासल युथ क्लबसंग गोलरहित बराबरी खेल्दै अंक बाडेको थियो ।मछिन्द्रले २ खेलबाट २ अंक जोडेको छ ।

खेलपछि मछिन्द्रका प्रशिक्षक धनेश्वर प्रजापतिले नतिजाबाट खुसी रहेको बताए । ‘नतिजाबाट खुसी छु । ४/५ दिनको तयारीले राम्रो नतिजा आयो । यसको श्रेय खेलाडीलाई जान्छ,’ प्रशिक्षक प्रजापतिले भने ।

 

Leave a Reply