पूँजीगत खर्च सन्तोषजनक नरहेको भन्दै सरकारको चर्को आलोचना

३ मंसिर २०७५, सोमबार

प्रतिनिधिसभाका सांसदहरुले पूँजीगत खर्च सन्तोषजनक नरहेको भन्दै सरकारको चर्को आलोचना गरेका छन ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको आजको  बैठकमा पूँजीगत खर्चसम्बन्धि छलफलमा भाग लिँदै सांसदहरुले पूँजीगत खर्च जनताको अपेक्षा अनुसार हुन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन ।
बैठकमा समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूँजीगत खर्च गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।
उहाँले नयाँ आर्थिक वर्ष सुरु भएको ४ महिना बित्दा पनि आयोजनाहरुको डिजाईनको काम समेत सुरु गर्न नसकेको भन्दै कहिले पूँजीगत खर्च गर्न सुरु गर्ने भनि सरकारसँग प्रश्न समेत गर्नु भयो ।
यस्तै  विष्णु पौडेलले औचित्य पुष्टि नभई गैर बजेट बिनियोजना नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
पूर्व अर्थमन्त्री समेत रहनु भएका उहाँले गैर बजेटको दवाव अर्थ मन्त्रालयमा  परेको उल्लेख गर्दै त्यस्ता परिपार्टीको अन्त्य गर्न पनि अर्थ मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
समितिको बैठकमा अर्थ सचिव राजन खनालले गैर बजेटको दवाव नदिन अन्य मन्त्रालयलाई आग्रह गर्नु भयो । उहाँले अतिआवश्यक परे मन्त्रालयले आफ्नै स्रोत परिचालन गरेर पनि बजेट खर्च गर्न सकिने व्यवस्था गरिएको पनि स्मरण गराउनु भयो ।

Leave a Reply