युथ युनियनद्दारा देउसी भैलोको रकमबाट विद्यार्थीलाई सहयोग

३ मंसिर २०७५, सोमबार

 

पाल्पा, रामपुर नगरपालिका वडा नम्बर ४ र ५ मटेरीमा रहेको युथ युनियन मटेरीले देउसी भैलो खेलेर संकलन गरेको रकमले २ बिद्यालयका बिद्यार्थीलाई जाडोको मौसममा लगाउने न्यानो सुइटर र कापी कलम बितरण गरेको छ । क्लबमा सक्रिय युवाहरुले सामाजिक कार्यका लागि खेलेको देउसी भैलोबाट बालबालिकाको पढाईमा सहज होस् भनेर शैक्षिक सामाग्री र सुइटर प्रदान गरेको क्लबका अध्यक्ष अमिर रानाले बताउनुभयो । रामपुर नगरपालिका अन्तर्गत वडा नम्बर ४ देविस्थानको कालिका आधारभुत विद्यालय र वडा नम्बर ५ मटेरीको रामपुर आधारभुत विद्यालयका बिद्यार्थीलाई सुइटर र कापी कलम दिईएको हो । प्रति विद्यालय १५ बिद्यार्थीलाई सुइटर र १५ विद्यार्थीलाई कापी कलम गरि प्रति बिद्यालय ३० जना विद्यार्थीलाई शिक्षा आर्जनमा सहज होस् भनेर शैक्षिक सामाग्री प्रदान गरिएको क्लबले जनाएको छ । रामपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एक बहादुर नेपालीले वडामा क्लबले गरेको पहिलो रचनात्मक कार्यको प्रशंसा गर्दै यो सहयोगले बालबालिकाको पढाईमा सबैलाई चेतना जगाएको बताउनुभयो । वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्लले सामाजिक काममा युवा एकताबाट अग्रजले पनि सिक्नुपर्ने बताउनुभयो । उहाँले समाजको जिम्मेवार सस्थाले यसरी नै काम गरेको खण्डमा हरेक बर्ग र समुदायमा विकासको अनुभुति हुने बताउनुभयो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले खेलकुदमा सिमित राख्ने क्लबका गतिविधिलाई युथ युनियनले पाठ सिकाएको बताउनुभयो । समाजका राम्रा काममा सबै लाग्नुपर्छ पाण्डेले भन्नुभयो–सामाजिक काममा आउन प्रेरित भएमा यसले शान्ति सुरक्षा कायम राख्नमा मद्धत पु¥याउछ । सोही अबसरमा प्रहरी निरिक्षक पाण्डेले भदौ १ देखि जारी नयाँ कानुन पढ्न जान्न र बुझ्न आग्रह गर्नुभयो । रामपुर आधारभुत विद्यालयका अध्यक्ष निलकण्ठ भण्डारीले गाउँको क्लबले साना–साना भाईबहिनीको जीवनसँग जोडेर गरेको सहयोगको प्रशंसा गर्नुभयो । कालिका आधारभुत विद्यालयका अध्यक्ष बसन्तराम ठाडाले क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । क्लबले यस बर्षको तिहारमा एक जुट भएर खेलेको देउसी भैलोको रकम सामाजिक काममा लगाउने निर्णय गरि बिद्यालयको सहकार्यमा बिद्यार्थी छनौट गरि सहयोग हस्तान्तरण गरेको क्लबका कोषाध्यक्ष कमल रानाले जानकारी दिनुभयो । जाडो मौसम शुरु भइसकेकाले बिद्यार्थीलाई मध्यनजर गर्दै बाक्लो सुइटर बितरण गरिएको रानाले बताउनुभयो । जाडो मौसम बढेपनि बाक्लो सुइटर किनेर लाउन समस्या परेका घरपरिवारका बिद्यार्थीलाई छनौट गरि सुइटर प्रदान गरिएको विद्यालयले जनाएको छ । गरिव जेहन्दार तथा आर्थिक अबस्था कमजोर भएका परिवारका बालबच्चालाई पढाई लेखाईमा मद्धत पुगोस् भनेर त्यस्ता समुदायका बिद्यार्थीलाई कापी कलम बितरण गरिएको क्लबका सदस्य रहिम मिँयाले बताउनुभयो । आउदा दिनमा समेत सामाजिक कार्यमा युथ युनियन यसैगरि सक्रिय रहदै जाने मिँयाले जानकारी दिनुभयो । २०७३ सालमा स्थापना भएको क्लबले बिगतमा प्रहरीसँगको समन्वयमा साइवर अपराध बिषयमा बिद्यालयमा प्रशिक्षण सञ्चालन गरेको थियो भने समय–समयमा सरसफाई तथा बृक्षारोपण तथा खेलकुद लगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply