,“युवा शक्तिको साथ र सहयोगबिना आर्थिक समृद्धि पूरा हुन सक्दैन

५ मंसिर २०७५, बुधबार

राँझा,  प्रदेश नं ५ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सहकारीमा युवा सहभागिताको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडले नेपालगञ्जमा आज आयोजना गरेको प्रदेशस्तरीय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“युवा शक्तिको साथ र सहयोगबिना आर्थिक समृद्धि पूरा हुन सक्दैन त्यसैले सहकारीको माध्यमबाट युवालाई समेट्नु आवश्यक छ ।”

वस्तुगत सबैखाले सहकारीले युवा सहभागितालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले सहकारीको माध्यमबाट युवालाई स्वदेशमै रोजगारमूलक व्यवसायमा लगाउन सकेमात्रै स्वदेशी अर्थतन्त्र बलियो हुने बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष डिबी बस्नेतले सहकारीमा युवाको सहभागिता बढाउन प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका २१ जिल्लाका युवालाई नेपालगञ्जमा जम्मा गरेर सहकारी सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

दुई सय ५५ बचत तथा ऋण सहकारी संस्थाबाट १४३ पुरुष र ११२ युवाको सहभागिता रहेका सहकारी युवा सम्मेलनमा सहकारीमा युवा सहभागिता र युवा उद्यमशीलता, सहकारी र नेतृत्व विकासका विषयमा छलफल गरेर नेपालगञ्ज घोषणापत्र जारी गरिने सङ्घका केन्द्रीय महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडले दशवर्ष अघि २००९ मा गरेको अध्ययन अनुसार सहकारी संस्थामा २० प्रतिशत मात्र युवा सहभागिता रहेको थियो भने नेतृत्व १५ प्रतिशत रहेको थियो ।अहिले यो प्रतिशत अझ घटेको सङ्घका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको भनाइ छ ।

सहकारी युवा सम्मेलनबाट युवा वर्ग सहकारीमा आवद्ध हुन अभिप्रेरित हुने, सरकारलाई सहकारीमैत्री युवा लक्षित कार्यक्रम आयोजनाको लागि नीति निर्माणमा सहयोग पुग्ने, युवा उद्यमशीलता विकासको प्रवद्र्धनमा सहयोग पुग्ने र बचत तथा ऋण सहकारी संस्थामा युवा लक्षित उत्पादन तथा सेवाको विकासको शुरुवात हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनभुयो ।
–––

Leave a Reply