नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १४औँ साधारणसभा

७ मंसिर २०७५, शुक्रबार

 

पोखरा, नेपाल पत्रकार महासङ्घले चाँडै महासङ्घको दीर्घकालीन रणनीति तयार गर्ने भएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले भावी दिनमा सङ्घका गतिविधिलाई अझै प्रभावकारी बनाउन दीर्घकालीन रणनीति तयार गर्न लागिएको बताउनुभयो ।

रणनीति तयार गर्न महासङ्घ केन्द्रीय समितिका साथै पूर्व केन्द्रीय अध्यक्ष, प्रदेश समितिका अध्यक्ष एवं महासचिव र जिल्ला शाखा अध्यक्षसहितको बैठक विराटनगरमा हुन लागेको उहाँले जानकारी दिनुभयो । उक्त बैठकमा महासङ्घको सदस्यता शुद्धीकरणलगायत विषयमा पनि गम्भीर छलफल हुने अध्यक्ष आचार्यले बताउनुभयो । “पत्रकारिता पेशालाई अझै मर्यादित एवं जिम्मेवार बनाउन महासङ्घ लागिपरेको छ,” उहाँले भन्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले समाजका हरेक गतिविधिको सूचना एवं खबरदारी गर्ने जिम्मा पत्रकारको भएको बताउनुभयो । “फेवातालको संरक्षणका लागि सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गछौँ,” उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं साधारणसभाका केन्द्रीय प्रतिनिधि रामकृष्ण ज्ञवालीले कुनै पनि सञ्चारकर्मी न्यूनतम पारिश्रमिकबाट वञ्चित हुन नहुने र नियुक्तिपत्रबिना काम नगर्न सुझाव दिनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको क्षमता अभिवृद्धि, महासङ्घको पूर्वाधार विकासलगायत कार्यमा महासङ्घ क्रियाशील रहेकोे बताउनुभयो । पछिल्लो समय महासङ्घको पूर्वाधार निर्माण, पुरस्कारको अक्षयकोष र पत्रकार कल्याणकोषमा गरी रु ८८ लाख आठ हजार जम्मा भएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply