खटाएको ठाउँमा नजाने कर्मचारीलाई कार्वाही :मन्त्री लालबाबु पण्डित

७ मंसिर २०७५, शुक्रबार

भद्रपुर,  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई अब जारी हुने कर्मचारी समायोजन अध्यादेशमा कडा कार्वाहीको गरिएको बताउनुभएको छ ।

झापाको भद्रपुरमा आज जिल्ला समन्वय समितिले आयोजना गरेको ‘स्थानीय सरकारका उपलब्धि र चुनौती’ विषयक कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया गर्दै मन्त्री पण्डितले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई घर फर्किने बाटो खुल्ला गर्ने गरी कर्मचारी समायोजन अध्यादेश ल्याउन लागिएको छ भन्नुभयो । उहाँले गणतन्त्रमा कर्मचारीले झनै जनताको सेवामा समर्पित भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

उहाँले चेकमा हस्ताक्षर गर्न पाएनौँ भनेर गुनासो गर्ने नगरपालिका र गाउँपालिकाका उपप्रमुख तथा वडाध्यक्षलाई पहिलेकै सिंहदरबारले जस्तो शासक बन्ने र मनलाग्दी गर्ने छुट कसैलाई नहुने भएकाले चेकमा हस्ताक्षर गर्ने रहर नगर्न सम्झाउनुभयो । मन्त्री पण्डितले जिल्ला समन्वय समितिको कोष फुकुवा गर्ने विषयमा सरकारले छिट्टै निर्णय गर्नेसमेत जानकारी दिनुभयो ।
–––

Leave a Reply