ए डिभिजन : लिग कर्णको दुई गोलमा हिमालयन शेर्पा विजयी, विदेशी खेलाडीको गोलमा सरस्वतीको पहिलो जितमा

८ मंसिर २०७५, शनिबार

कर्ण लिम्बुको दुई गोल मद्दतमा हिमालयन शेर्पाले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ।

हलचोकस्थित एपीएफको फुटबल मैदानमा शनिवार भएको खेलमा शेर्पाले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो।

१० मिनेटको अन्तरमा दुई गोल गरेका कर्णले ६६औँ र ७५औँ मिनेटमा गोल गरे। ८६औँ मिनेटमा शेर्पाकै अनिल गुरुङले आत्मघाती गोल जावलाखेललाई उपहार दिएका थिए।

दोस्रो जितपछि शेर्पाले अपराजित यात्रा कायम राख्दै तीन खेलबाट त्रिभुवन आर्मी समान ७ अंक जोडेको छ र गोल अन्तरमा अगाडी रहँदै अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ।

यसैगरी हलचोकमै भएको पहिलो खेलमा सरस्वती युथ क्लबले फ्रेण्ड्स क्लबलाई ३-० ले हरायो। सरस्वतीलाई लिगमा पहिलो जित दिलाउन तीनै गोल विदेशी खेलाडीले गरे।

खेलको १२औँ मिनेटमा भिक्टोरको गोल मार्फत अग्रता बनाएको सरस्वतीका लागि ७३औँ मिनेटमा फ्रान्सिस ओकेचुकविन र ८३औँ मिनेटमा इब्राहिमले गोल गरे।

यसअघि संकटा र हिमालयन शेर्पासँग पराजित सरस्वतीले पहिलो जितपछि तीन अंक जोडेको छ।

फ्रेन्ड्सको भने लिगमा यो लगातार तेस्रो हार हो। यसअघि फ्रेण्ड्स थ्री स्टार र एपीएफसँग पराजित भएको थियो।

आजको दुई खेलपछि तीनमा तेस्रो चरणको सबै खेल सकिएको छ। सहभागि १४ क्लबले तीन-तीन खेलिसक्दा दुई टोलीले मात्र शतप्रतिसत नतिजा हात पारेका छन्। तीनवटै खेल जितेको मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब क्रमश: पहिलो र दोस्रो स्थानमा छ।

अपराजित रहँदै समान ७ अंक जोडेको शेर्पा तेस्रो र आर्मी चौथो स्थानमा छ। यस्तै तीनमध्ये दुई खेल जितेको थ्री स्टार ६ अंकका साथ पाँचौ स्थानमा छ भने मिश्रित नतिजा हात पारेको च्यासल युथ क्लब, नेपाल पुलिस र एपीएफ क्रमश: छैटौँ, सातौँ र आठौँ स्थानमा छ।

समान खेल खेल जितेका सरस्वती र ब्रिगेड क्लब नवौँ र दशौँ स्थानमा छ। मछिन्नद्र (२) ११औँ एनआरटी (१) १२औँ स्थानमा छ भने जावलाखेल र फ्रेण्ड्स अंकविहिन छ।

लिगको चौथो चरणका खेलहरु यही मङ्सिर १० गतेदेखि सुरु हुनेछ।

Leave a Reply