कांग्रेसको टिप्पणी:सरकार आईएनजीओसँग भेटिन्छ , जनताको दुःखमा सरकार देखिएन

८ मंसिर २०७५, शनिबार

काठमाडौं ,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको परिवारले न्यायको भिख माग्दै मानसिक सन्तुलन गुमाउनुपर्ने अवस्था आउँदासमेत सरकार नभेटिनु दुःखद् भएको बताएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विशेष पत्रकार भेटघाट गर्दै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको बुबाको मानसिक अवस्था कमजोर बनेको प्रति सरकारको ध्यानाकर्षण गराए ।
‘निर्मलाको न्यायका लागि भिख माग्दै गर्दा उनका बाबु यज्ञराज पन्तको मानसिक सन्तुलन कमजोर भएको भन्ने समाचार आएका छन्, सरकार कहाँ छ भनेर खोज्दा आईएनजीओको कार्यक्रममा भेटिन्छ, जनताको दुःखमा सरकार देखिएन,’ प्रवक्ता शर्माले भने ।
शर्माले सुशासनका क्षेत्रमा हराएको सरकार आईएनजीओले गरेको कार्यक्रममा सहआयोजकका रूपमा भेटिएको बताएका हुन् । सरकारले ध्यान दिनुपर्ने मुख्य विषयवस्तुहरूलाई ध्यान नदिई एनजीओ÷आईएनजीओको कार्यक्रममा भेटिनु दुःखद् भएको उनले टिप्पणी गरे ।
१६ र १७ मंसिरमा राजधानीमा हुने एक कार्यक्रममा सरकार सहआयोजक रहेको निमन्त्रणापत्र अगाडि राखेर उनले सरकारको आलोचना गरेका हुन् ।
सरकार कुनै आईएनजीओको सहआयोजक भएर कार्यक्रम गरिनुले मुलुकको उचाइमा समेत प्रश्न खडा हुने उनको भनाइ छ ।
काठमाडौंमा हुने ‘एसिया प्यासिफिक सम्मेलन २०१८’ मा नेपाल सरकार र संघीय संसद् सहआयोजकका रूपमा रहेको र सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा प्रवक्ता शर्माले जोड दिए ।
उनले एनजीओ आईएनजीओहरू नेपाल सरकारको मातहतमा रहनुपर्नेमा सरकार नै एनजीओको मातहतमा रहेको भन्दै यस्तो अवस्था आउनु दुःखद भएको जनाए । यस्तै मुलुक धर्म निरपेक्ष भइसकेको अवस्थामा धार्मिक कार्यक्रमको प्रचारमा हुने कार्यक्रममा सरकार सहभागी हुन नहुने उनको भनाइ छ ।
‘यो सम्मेलनमा इसाई धर्मको प्रचार हुन्छ भन्ने कुरा सञ्चारमाध्यममा आइरहेका छन्, हाम्रो मुलुकको संविधानले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गसरिसकेको छ, सरकार धार्मिक प्रचारका कार्यक्रममा सहआयोजकका रूपमा भेटिनु संविधानविपरीत छ,’ शर्माले थपे ।
प्रवक्ता शर्माले जनमतबाट दुई तिहाइ बहुमतमा बनेको सरकार एनजीओ आईएनजीओको कार्यक्रममा भेटिनुले सरकार कमजोर मानसिकतातिर अलमलिएको दाबी गरेका हुन् ।

Leave a Reply