निर्मलाको न्यायका लागि, नागरिक संघर्ष समितिले आन्दोलन गर्ने

१६ मंसिर २०७५, आईतवार

ईश्वर दत्त बडू, 
कञ्चनपुर।  कंञ्चनपुरकी  निर्मला पन्तको  हत्या भएको चार महिना वितिसक्दा पनि प्रहरीले वास्तविक हत्यारा सार्वजनिक नगरेको भन्दै निर्मलाको न्यायका लागि  फेरी आन्दोलनको घोषणा गरिएको छ । अहिलेसम्म पन्त परिवारनै धर्नामा रहेको थियो भने  सोमबारदेखि अब नागरिक संघर्ष समितिले आन्दोलन गर्ने बताइएको छ । ।

शनिबार नागरिक संघर्ष समितिको महेन्द्रनगरमा बसेको बैठकले न्यायका लागि आन्दोलनको विकल्प नभएको भन्दै चारदिने आन्दोलनको कार्यक्रम तय गरेको छ । नागरिक समाज कञ्चनपुरका पुर्व अध्यक्ष नरबहादुर साउदले  १७ मंसिरदेखि २० सम्म आन्दोलनका कार्यक्रम तय भएको बताए । सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालय मुल गेटमा कालोपट्टी बाँधेर धर्ना दिने, बुधबार न्यायका लागि दिउँसै टर्च बालेर प्रर्दशन गर्ने, बिहीबार मानव साँङलो बनाउने ।
‘सुदूरका सबै जिल्ला प्रशासनमा धर्नाका लागि नागरिक संघर्ष समितिले समन्वय गर्छ, ‘उनले भने, ‘हामीले पहिलो चरणमा जिल्लामा आन्दोलन थाल्छौँ, त्यसपछि प्रदेशमा जान्छौँ ।’
बैठकका सहभागिले वास्तविक न्यायका लागि स्पष्ट रोडम्याप तयार गरिनुपर्ने र तय भएको कार्यक्रम बाहेक, आफुखुसी आन्दोलन गर्दा न्याय प्रभावित भएको तर्क गरेका थिए । अधिकारकर्मी नितु भट्टले भन्ने र निर्णय गर्ने एक व्यवहारिक रुपमा अर्को काम गर्दा समस्या आन्दोलन प्रभावित भएको बताए । उनले निर्मलाका आमाबाबुलाई सुटुक्क काठमाडौं लगेर आन्दोलन तुहिएको दावी गरिन् ।
महिला अधिकारकर्मी भारती चौधरीले न्यायका लागि सरकारले वेवास्ता गरेकाले आन्दोलनको स्वरुप बलियो बनाउनुपर्नेमा जोडदिईन् । विद्यार्थी नेता कैलाशचन्द्र गिरीले प्रहरीले विभिन्न पाटाबाट अनुसन्धान गर्दा पनि कहिकतैबाट सुईको नपाएकाले अब निर्मलाकै घरबाट अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।  साथीको घरमा होमवर्क गर्छु भन्दै घरबाट हिँडेकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फ्याँकिएको  थियो ।

Leave a Reply