डा. टीकाराम पोखरेल
नेपालको समयसामयिक राजनीतिकमञ्चमा नेताहरु आलोचित छन् । आमनागरिकको धारणा नेताहरुप्रति सकारात्मक छैन भन्ने कुरा सामजिक सञ्जालमा देखिएका असन्तुष्टिहरुले पुष्टि पार्दछ । त्यसो त सर्वसाधारण मात्र होइन, दलका कार्यकर्ता पनि आफ्नै नेताहरुसँग सन्तुष्ट छैनन् । यति हो कि कारवाहीको डर र भविष्यमा कुनै पद पाइने लोभले कार्यकर्ताहरु खुलमखुला आफ्ना नेताको आलोचना गर्दैनन् । आखिर नेताहरु यति आलोचित किन ?
कामभन्दा कुरा बढी : समसामयिक राजनीतिमा काम गर्नेभन्दा कुरा बढी गर्ने नेता बढी छन् । यो हुनुपर्छ र त्यो हुनुपर्छ भन्न नेताहरुलाई कण्ठस्थ आउँछ, तर आफू काम गर्न भने आउँदैन । नेताले आलोचना गर्ने होइन, आलोचना सुन्ने हो । माग गर्ने होइन, माग पूरा गर्ने हो । बोल्ने कम, सुन्ने बढी हो । कुरा कम, काम बढी हो । तर हाम्रा नेताहरु आफ्नो आलोचना मन पराउँदैनन्, अरुको आलोचना गर्छन् । आफू केही गर्दैनन्, तर यो हुनुपर्छ र त्यो हुनुपर्छ भन्दै जनताले झैँ माग तेस्र्याउँछन्, जनताका कुरा सुन्दैनन्, बरु जनतालाई उपदेश बाँड्छन् । त्यसैले नेताहरु जनताबाट आलोचित हुन्छन् ।
विलाशी जीवनशैली : वर्तमान राजनीतिको शिखरतिर रहेका अधिकांश नेताहरु निम्न र मध्यमवर्गीय पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । तिनीहरुको प्रारम्भिक राजनीतिक पाठशाला जनताको घरदैलो नै हो । जनताको घरको खोलेफाँडोमा राजनीति सिकेका र पछि व्यवस्था परिवर्तन भएपछि सत्ताको शिखरतिर फड्को मारेका ती नेताहरु विलासी भएर निस्किए । सत्ता उन्मादले गर्दा हिजो जनताको घरमा सिस्नु ढीँडो खाएको बिर्से । यसले गर्दा आलोचनाका पात्र बन्न पुगे ।
पुरातन पुनरावृत्ति : २०४६ पछि देशमा प्रजातन्त्र त आयो, व्यवस्था परिवर्तन भयो, तर शैली परिवर्तन भएन । पञ्चायती शैलीले निरन्तरता भयो । कागजमा व्यवस्था परिवर्तन भयो काममा शैली परिवर्तन भएन । व्यक्तिका अनुहार फेरिए, व्यवहारहरु फेरिएनन् । नेताको जीवनस्तर परिवर्तन भयो, तर जनताको जीवनस्तर जस्ताको तस्तै रह्यो । यसले गर्दा नेताहरु जनताहरु आलोचित हुन पुगेको मात्र होइन, यदाकदा व्यवस्थामाथि समेत प्रश्नचिन्ह तेस्र्याउने अवस्थाको समेत सिर्जना स्वयम् नेताहरुल गरे ।
सत्तालिप्सा : विगत केही दशकको नेपालको राजनीतिको सबैभन्दा ठूलो रोग नै सत्तालिप्सा हो । सत्ताका लागि जे पनि गर्न तयार भएका कारण नेताहरु जनताको नजरमा आलोचित हुन पुगे । राजनीतिमा लागेपछि एकपटक मन्त्री त हुनै पर्छ नि भन्ने भोक नेताहरुमा जाग्यो । जोगी हुन राजनीति गरेको हो र ? भन्नेदेखि राजनीति गरेपछि प्रधानमन्त्री, मन्त्री सभासद्को आकांक्षा राख्नु स्वाभाविक नै हो नि भन्ने कुरा स्वयम् नेताहरुकै मुखबाट खुलमखुला सुनिन थाले । आफू सत्तामा पुगे सबै राम्रो , अरु पुगे सबै खत्तम भन्ने दिग्भ्रमित रोग नेताहरुमा जागृत भयो र नेता आलोचनाका पात्र बन्न पुगे ।
आपसी कलह : दल–दल बीच होस् वा एकै दलभित्रका गुटउपगुटहरु बीच नै किन नहोस्, नेताहरुमा एकअर्काप्रतिको सम्मान, आस्था र मर्यादापूर्ण व्यवहार कहिल्यै भएन । एकले अर्काको उछितो काड्ने काम मात्र भयो । यदाकदा राजनीतिक स्वार्थमा कुरा मिले पनि नेताहरुको मन देश निर्माण गर्ने कुरामा कहिल्यै मिलेन । कोही न कोहीसँग झगडा नभएका नेता र राजनीतिक दल देख्न पाइएन । टुटफुट र गुटलाई नै राजनीति मानियो र गरियो । यसले गर्दा नेताहरु जनताको आँखामा आलोचनाका पात्र बने ।
प्रजातन्त्रको अपव्याख्या : प्रजातन्त्र भनेको जनताको शासन व्यवस्था हो । तर प्रजातन्त्र भनेको दलहरुको रजाइँ गर्ने तन्त्र भन्ने दृष्टिभ्रम राजनीतिक नेताहरुमा भयो । प्रजातन्त्र आफूले ल्याएको हो र आफूले ल्याएको प्रजातन्त्रलाई आफूले जसरी मन लाग्यो त्यसरी तोड्न, फोर्न, चिथोर्न पाउनुपर्छ भन्ने मनोवृत्ति नेताहरुमा झांगियो । प्रजातन्त्र भनेकै आलोचना, झगडा, छलछाम छाडापन, उदण्डता, अराजकता भनी मनोवैज्ञानिक रुपमा बुझ्ने बुझाउने र अभ्यास गर्ने काम भयो । आफ्नाले गरे नराम्रो पनि समर्थन र अरुले गरे राम्रो पनि आलोचना गर्ने प्रवृत्ति मौलायो । प्रजातन्त्र भनेको बहुमत हो रबहुमतले जे गरे नि हुन्छ भन्ने अपव्याख्या राजनीतिमा हुन थाल्यो । यसले आलोचना बढ्यो ।
भ्रष्टाचार : देशको सबैभन्दा ठूलो रोग नै भ्रष्टाचार हो । यो रोगको उपचार नभएसम्म देश समुन्नतिको मार्गमा लम्कँदैन । तर देशमा भ्रष्टाचार यति मौलाएको छ कि यो विकृति मात्र नभएर संस्कृति नै बन्ने खतरा छ । कर्मचारीतन्त्रको चंगुलमा परेर राजनीतिक नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । एकातिर चुनावमा गरिएको अत्यधिक खर्चको पूर्ति गर्न भ्रष्टाचार गर्नु परेको छ भने अर्कोतर्फ राजनीतिलाई पेशा ठानेकोले पेशाबाट आम्दानी गर्नैपर्ने बुझाइ नेताहरुमा भएको छ । राजनीतिमा लाग्नु भनेको पूँजी लगाउनी हो र यसबाट आर्थिक लाभ हुनुपर्ने अदृश्य आकांक्षा नेताहरुमा छ । राजनीतिमा कमाउने बाटो भने भ्रष्टाचार बाहेक अर्को छैन । यसले गर्दा भ्रष्टाचार नियन्त्रणभन्दा बाहिर पुगेको छ । भ्रष्टाचार नेताको अभिन्न अंग बनेको छ । जनतासँग नेताको आलोचना गर्नुको अर्को विकल्प छैन ।
जनउपेक्षा : नेताले जनताको अपेक्षा पूरा गर्नुको सट्टा जनताको उपेक्षा गरे । नेताहरुले जनतालाई चुनावमा मात्र देखो, चुनावपछि विर्से । नेताले कार्यकर्ताको बलमा जनताबाट भोट लिन सफल भएपछि नेताले पनि जनता भनेको कार्यकर्ता बाहेक अरुलाई बुझेनन् । चुनाव जितेपछि न जनताको घरदैलोमा फर्के न त जनताको गास, बास, कपास र विकास सम्बन्धमा कुनै सिर्जनात्मक काम नै गरे । मात्र जनतालाई उपेक्षा गरे । तर जनताको नाममा राजनीति गर्न भने छाडेनन् । फलतः नेताहरु दिनप्रतिदिन आलोचित बने ।
अराजनीतिक साँठगाँठ : देशका ठूला पार्टी र अधिकांश नेताको पार्टी कार्यकर्ता र जनतासँग भन्दा अराजनीतक समूहसँग बढी साँठगाँठ भएको समाचारमा आइरहन्छ । जनता चाहिँ अप्रिय तस्कर समूह चाहिँ प्रिय हुने यो परिपाटीले गर्दा जनता र नेताको बीचमा ठूलो खाडल बनिरहेको छ । चुनावको बेला जनता प्रिय अरु बेला तस्करप्रिय नेताको घेरा बनेको छ । तस्करको लस्करले घेरेर बस्नु नेता अप्रिय हुनुको एक प्रमुख कारण हो ।
नैतिकताको समाप्ति : राजनीति भनेको नैतिकताको धरातलमा खेलिने सुन्दर खेल हो । तर राजनीतिमा नैतिकता अब सिद्धान्तमा मात्र बाँकी रह्यो । यदाकदा राजनीतिमा नैतिकताको आवाज नसुनिएको होइन, तर जो सबैभन्दा बढी नैतिकताको कुरा गर्छ ऊ नै सत्ता पाउनेबित्तिकै सबैभन्दा बढी अनैतिक बनेको देखियो । एक किसमले राजनीतिमा नैतिकताको समाप्ति नै भयो । नैतिकताको समाप्तिनेता आलोचित हुनुको कारण बन्यो ।
जवाफदेहीहिनता : जवाफदेहीता राजनीतिमा अत्यन्तै महत्वपूर्ण हुन्छ । तर नेपालको राजनीतिमा जवाफदेहीताको अभाव छ । बिग्रिएको कुराको जिम्मेवारी बोक्न कोही तयार छैन । सप्रेको कुरा सबै आफूले गरेको भन्ने दाबी छ । आफूले गरेको गल्तीमा आत्मआलोचना भन्ने कतै पनि देखिँदैन । झुट बोल्नुलाई चतु¥याइँ ठान्ने प्रवृत्तिको हाबी भएको छ । यसले गर्दा नेताले बोलको आमनागरिक त्यति विश्वास गर्दैनन् । जवाफदेही नभएका नेताहरु जनताका प्रियपात्र होइन आलोचनाका पात्र बनेका छन् ।
यी यावत कारणहरुले नेताहरु आलोचित बन्न पुगका छन् । जनताको नजरमा नेताहरु आलोचित हुनु भनेको शुभसंकेत पटक्कै होइन । यसले जनताको राजनीतिप्रति वितृष्णा बढाउँछ । जुन जोगी आए पनि कानै चिरेको भन्ने बुझाइ जनताहरुमा हुन थालेको छ । लोकतन्त्र भनेको जनताको तन्त्र हो । तर नेताहरुको यस्ता व्यवहारले जनताले लोकतन्त्र होइन नेतातन्त्र बुझ्न थालेका छन् । यसले लोकतन्त्र कमजोर हुँदैछ । त्यसैले लोकतन्त्रलाई मजबुत बनाउने हो भने नेताहरुले आफ्नो चरित्रमा सुधार गर्नुपर्छ र जनताको आलोचनाबाट जोगिनुपर्दछ ।