नारायणी देवकोटा
जीवनको कुनै काल खण्डमा भोगिएको यौन दुब्यवहारका कारण आफुमा परेको पिडाको विषयमा, उक्त दुब्यवहारको तह अनुसार दोषीका विषयमा, दोषीले गरेको यौन दुव्यवहार, बलात्कार र यौन उत्पिडनका साथै आर्थिक, शारीरीक र मानशिक रुपमा गरेका शोषणको विषय महिलाहरुले बोल्न थालेका छन् । केहि महिलाले अल्ली चर्को गरि सबैले सुन्ने गरि कार्वाहीको तह सम्म त केहिले भर्खरै खुसुर खुसुर भए पनि कुरा गर्न थालेका छन् । कसैले नामै किटेर त कसैले नाम नतोकिकन तर बुझिने गरि भन्न थालेका छन् । मि टु आन्दोलनको विषयमा कुरा हुँदा धेरैले ‘मन मिलेसम्म प्रेम, मन नमिले बलात्कार’, ‘आफ्नो घरका पुरुष नमुछिँदा सम्मको आन्दोलन’, ‘पुरुष विरोधी आन्दोलन’, कतिपयले विदेशी आन्दोलनको नक्कल त कतिले शहरिया मध्यमवर्गका महिलाको मुद्धाको रुपमा अथ्र्याउने गरेका छन् । यो लेख मि टु र नेपालमा यौन हिंसाको बहस, यहि बेलामा किन बोल्दै छन् महिलाहरु, यो विदेशीको एजेण्डा मात्रै होकि नेपाली समाजकै ‘फेनोमेना’ हो ?, प्रभावितको सामाजिक न्याय र आन्दोलनले भविष्यमा पार्ने प्रभावमा केन्द्रीत छ ।
मि टु र नेपालमा यौन हिंसाको बहस
नेपालमा मि टुको बहस भर्खरै प्रवेश गरेको भए पनि विगतमा भएका यौन हिंसाको विषयमा बहस, पैरवी र काम गर्न थालेको कुराको भने भर्खरै सुरु भएको होईन । द्धन्द्धका घटनामा केन्द्रीत भएर गरिएका अध्ययन, अनुसन्धान र काम गर्ने मानिसहरुले १० वर्षे जनयुद्धका समयमा भएका बलात्कारका घटनालाई सम्बोधन गर्नु पर्ने विषयमा दबाव दिने काम भईरहेका थिए । बलात्कार र यौनजन्य हिंसा घटनाको दर्ताको कुनै समय सिमा राखिनु हुन्न भन्ने कुरालाई केन्द्रमा राख्दै नेपाली महिलाहरुले आवाज उठाउन थालेको पनि एक दशक भई सकेको छ । द्धन्द्धका घटना मात्रै सिमान्तकृत समुदायका महिलामाथि कथित माथिल्लो जात र वर्गका पुरुषलृ गरेका यौन उत्पिडनका विषयमा लेख्ने (अख्यान, गैर अख्यान), फिल्म बनाउने वा बहसका विषय बनाउन थालिएको पनि धेरै नै भईसकेको छ । त्यसैले मि टुको बहसलाई नितान्त नौलो विषय भने होईन ।
यति बेला नै यो आन्दोलन किन बल्लियो भयो ?
समाजशास्त्रीय नजरबाट हेर्दा मि टु आन्दोलन अहिले आएर किन सशक्त रुप लिँदैछ वा महिलाहरुले किन वर्षौ अगाडी भएका यौन दुब्यवहार र उत्पिडनका विषयमा बोल्दैछन् भन्ने कुराको खास सामाजिक ऐतिहासिकता छ । यति बेला धेरै हद सम्म नेपालको सम्बिधान, कानुन महिला मैत्रि छ, साथ साथै समाजमा महिला र महिलाको यौनिकतालाई हेर्ने नजरिया परिवर्तन हुँदै गएको छ । सार्वजानिक र सामाजिक संचार माध्यमको पहुँच सबैमा पर्दै गएको छ । अनि महिलाहरु आर्थिक रुपले सशक्त हुँदै गएका छन् । पुरुष (बा, दाईभाई वा श्रीमान) प्रतिको परनिर्भरता हट्दै जाँदा महिलामा समाजले जे सुकै भने पनि ‘म यो मुद्धामा लड्न सक्छु’ भन्ने आत्मविश्वास बढ्दै गएको छ । मुख्य कुरा के हो भने महिलाहरु अब आफुँ माथि भएको यौन उत्पिडनका घटना, ती घटनाले उब्जाएका विभिन्न समस्या, मानशिकतामा पर्न गएको आघात र पुरुषलाई हेर्ने महिलाको आफ्नै नजरियाको विषय कुरा गर्न थालेका छन् । महिला माथि भएका दुब्यवहारका कुरा सुन्न र साथ दिएर आवाज उठाउन समाजको एउटा पंति तयार भएको छ । जसले वर्षौ अगाडी देखि भन्न हुने कि नहुनु? भने पछि आउने समस्या, घटना सार्वजानिक भए पछि आउने लान्छनाको डरले कसैलाई भन्न नसकेर मनमा गडेका कुराहरुको विषयमा बहस सुरु भएको छ नै । साथ साथै पुरुषहरुका ब्यवहारलाई हेर्ने महिलाका नजरको ब्याख्या सुरु भएको छ ।
मि टु र सामाजिक न्यायको कुरा
मि टुको बहस र चार महिना अगाडी बलात्कार र हत्या गरिएकि निर्मला पन्तको न्यायको लागि भएका प्रयासका बाबजुद पनि दोषीलाई पक्राउ नपरे, ललितपुरको गोदम चौरको घटनामा न्यायलयले नै दोषीलाई उन्मुक्ती दिएको तथा बलात्कार पछि ज्यान गुमाएकि रमिला नेपालीका अभिभावकले २१ महिना देखि न्यायको लागि भौतारिईरहेको घटना कहिले एक साथ र कहिले फरक फरक रुपमा बहसका विषय भएका छन् । बलात्कार भएको, बलात्कार पछि हत्या भएको घटनामा कार्वाही नहुने समाजमा वर्षौ अगाडी भएका यौन हिंसाको विषयमा बोल्दैमा न्याय पाउन सकिन्छ कि सकिन्न भन्ने प्रश्न समेत उठेको छ ।
जुन सुकै घटनामा पनि न्यायको परिभाषा जटिल विषय हो । हाम्रो समाजमा घटनाका दोषीलाई कार्वाही नै न्याय हो भन्ने कानुनी परिभाषा छ । तर, मि टु आन्दोलनले उठाउन खोजेको विषय त्यति मात्रै पक्कै होईन । पहिलो कुरा त आफुँले भोगेको दुब्यवहार, उत्पिडनको विषयमा बोल्नु नै हो । भर्खरै त्रिवि समाजशास्त्रका दुई छात्राले आफुँलाई प्राध्यापकले गरेको यौन दुब्यवहारका विषयमा लेखे पछि उब्जेका बहसबाट । ती दुई छात्राले पिडकको नाम उल्लेख नगरि आफुँले भोगको हिंसालाई सार्वजानिक गरेपछि त्रिवि र प्राज्ञिक क्षेत्रमा बहस चर्किन थालेको छ । कसैले ‘बाहिर बाहिर समानताका गफ दिने, लैगिकताको विषयमा पढाईहुने डिपार्टमेन्ट भित्रै यस्तो रहेछ’ भनेर हियाउने, नाम नतोकि विषयलाई उठाउँदा सबै प्रति शंका उत्पन्न भएको सम्म प्रतिक्रिया सार्वजानिक भएका छन् । तर ती दुई छात्राले आफुँले सम्मान गरेको, आफुँलाई पनि प्राज्ञिक कार्यमा सहयोग गरिरहेको प्राध्यापकले समेत यौन दुब्यवहार गर्यो भनेर भन्न सम्म नपाउने ?
पिडकको नाम भन्नु या नभन्नु, उजुरी गर्नु या नगर्नु, आफुँले भोगेका पिडालाई सार्वजानिक गर्नु वा नगर्नु त्यो प्रभावितमा निहित कुरा हो । जुन दुब्यवहार र उत्पिडनको घनत्वले निर्धारण गर्ने कुरा । कुन हद सम्म जाँदा प्रभावितको मनमा शान्ति मिल्छ र उसलाई समाजमा सहजता हुन्छ त्यसले सामाजिक न्यायलाई निर्धारण गर्दछ ।
पुरुषको विरोध कि हिंसाको विरोध ?
सामाजिक संजालमा मि टु को विषयमा बहस चल्दै गर्दा कसैले ‘घरको मान्छे नपर्दा सम्मको लागि हो यो आन्दोलन’भन्ने तरिकाले उडाउने गरेका छन् । र त्यसको जवाफमा घरकै मानिसलाई पनि यसो भन्लान् उसो भन्लान् भन्ने आरोप कुनै एक सन्दर्भको कुरा ल्याएर उछालिने गरिएको पनि छ । तर मुख्य कुरा के हो भने यो आन्दोलन साँच्चिकै राम्ररी उठ्यो भने धेरैका घर भित्र नै आफ्ना घरका मानिसको विषयमा महिलाले बोल्ने छन् किन कि बलात्कारका घटनाहरुले घर भित्रका पुरुषका नजर पनि त्यति धेरै पवित्र भएको देखाउँदैन । आफ्नै दाई, काका, मामा, बा र नजिकका नातेदारबाट बलात्कार र यौन उत्पिडनमा परेका घटनाका प्रसस्त समाचार आएका छन् ।
कुनै पनि बलात्कारका घटनालाई महिलाले उठाउने विषय, पुरुषका विरुद्धमा उठाउने विषय होईन । चाहे बलात्कार बिरुद्धको आन्दोलन होस् चाहे मि टु आन्दोलन वा कुनै आन्दोलनको नाम थाहा नभएर पनि आफ्नो मुद्धामा लडिरहेको कुरा होस्, यो हिंसा र उत्पिडनको विरोध हो ।
भविष्यको चिन्ता
यो आन्दोलनले समाजलाई कता लैजान्छ भन्ने प्रश्न उठ्न थालेको छ । यसरी प्रश्न उठाउने त्यहि समुदायका मानिस बढीछन् जसले बलात्कारीको लिंग छेदन वा फाँसीका कुरा पनि बेला बेलामा गर्दै आएका छन् । तर, यो आन्दोलनले अहिले प्रमाण सहितका दोषीलाई कार्वाहीको तहमा गए पनि धेरै हद सम्म आफुँले भोगेका पिडाका अनुभव आदान प्रदान गर्ने र भित्र भित्र ‘हि टु’ भनेर अर्को मानिसलाई सचेत गराउनेमा नै बढी केन्द्रीत हुने देखिन्छ । साथै दबाव बढ्दै जाँदा सुनुवाई हुने गरि कार्यक्षेत्रमा हुनै दुव्यवहारको लागि राज्यले नै उचित पहल पनि थाल्न सक्छ । सबै भन्दा मुख्य कुरा कसैलाई उसको वर्तमानको अवस्थामा दवाव, प्रभाव र कुनै पनि शक्तिको आडमा गरिने यौन हिंसाका घटना सधैँ दबेर बस्दैनन् । पिडितले कुनै पनि बेला आफुँमाथि भएका घटनाको विषयमा सार्वजानिक गर्न सक्छन् भन्ने कुराले महिला माथि हुने यस प्रकारका यौन जन्य घटना न्यूनिकरण हुने आशा गर्न सकिन्छ । त्यसै गरि यौन जन्य दुब्र्यवहारमा पर्नुको दोष महिलाको होईन र यो लुकाएर मनभित्र भित्र पकाएर बस्ने कुरा होईन भन्ने कुरा स्थापित हुँदै जाँदा महिलाको यौनिकतालाई जसरी सर्बेसर्बा पनि बनाउने र त्यसैका आडमा दवाउने पनि काम हुँदै आएको छ त्यो कम हुँदै जान्छ ।
अन्त्यमा
मानिसहरुले मि टु आन्दोलनको नाम विदेशमा उठेको भए पनि नेपालमा यस प्रकारको दवावमुलक बहस अहिले मात्रै भएको होईन । जुनै पनि आन्दोलन त्यहि समयमा उठ्नुमा त्यसका एतिहासिकताहरु हुन्छन् । विगतमा भएका यौन हिंसाका विषयमा महिलाहरु बोल्न थाल्नुको खास ऐतिहासिकता छ, यो हिंसा विरोधी अभियान हो र यसले हिंसा गर्ने जो कोहिलाई प्रभावित सधैँ चुपचाप रहँदैन भन्ने सन्देश दिन्छ ।