‘निर्मला हत्याराको संरक्षणमा सरकार नै लाग्यो’

0
799

काठमाडौं ,नेपाल महिला संघले निर्मला पन्तको हत्याराको संरक्षणमा सरकार नै लागेको आरोप लगाएको छ ।
संघले आइतबार रिपोटर्स क्ल्बमा पत्रकारसम्मेलन गरेर सरकारले निर्मलाको हत्यारा पक्राउ गर्ने नाममा आम जनतालाई भ्रममा पार्न खोजेको र न्यायलाई मार्न बारम्बार नक्कली अभियुक्त देखाएको आरोप लगाएको हो ।
‘सरकारले सर्व साधारणको आखाँमा छारो हाल्न नक्कली अभियुक्त देखाउँदै छ, सरकार नै हत्यारा संरक्षण गर्न लागि परेको छ,’ महिलासंघकी महासचिव धना खतिवडाले पत्रकार सम्मेलनमा भनिन ।
राष्ट्रिय सभा सांसद समेत रहेकी खतिवडाले हत्या हिंसा तथा बलात्कारको बढ्दो घटनाका कारण जनताले राज्य छ भन्ने आभास समेत गर्न छाडेको बताइन ।
बलात्कार पछिका प्रमाण मेटाउने, पटक पटक नक्कली अभियुक्त देखाउँने, भारतमा भएका बेला निर्मलाको बाबुको नक्कली मुचुल्कामा हस्ताक्षर गर्ने लगायतका घटनाले सरकार दोषि पत्ता लगाउने भन्दापनि संरक्षण गर्न तर्फ नै केन्द्रित रहेको देखिएको उनले बताएकी हुन ।
संघले निर्मलाको न्यायका लागि शान्तिपूर्ण आन्दोलन गर्दा सरकारी पक्षबाट भएको दमन र धरपकड समेत गलत भएको बताएको छ ।
संविधानले नै शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकार सुनिश्चित गरेको भन्दै संघले निर्मलाको न्यायका लागि टासिएका पोष्टर च्यात्नु समेतले सरकारको नियत ठिक नभएको बताएको हो ।
संघले जनतामा शान्ति सुरक्षाको आभास दिन नसक्ने गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेको छ । देशमा महिला हिंसा बिरुद्धको १६ दिने अभियान जारी रहँदा समेत महिला हिंसाका घटना घट्न नसकेको संघले जनाएको छ ।
संघले देशमा दण्डहिनता मौलाइरहने र सरकार गम्भीर नहुने हो भने सडक देखि सदनसम्म आन्दोनल गर्ने चेतावनी समेत दिएको छ ।