डिप्रेसनले किन गाँज्दैछ कलाकारलाई ?

0
1213

धेरै ठूलो फ्यान फ्लोइङ थियो । गीत धमाधम चलिरहेको थियो । भ्याएसम्म देश–विदेशका कार्यक्रमबाट स्टेज कार्यक्रमको अफर पनि निरन्तर आइरहन्थ्यो । गीत गाउने मात्र होइन उनी युवाहरूलाई मोटिभेसन क्लास पनि दिन्थे । कसरी सफल हुने, कसरी आफ्नो खुट्टामा उभिने कसरी आँट बटुल्ने, सबैका अघि कसरी निर्धक्क बोल्ने ? जस्ता विविध विषयमा उनले प्रशिक्षण समेत दिएका थिए उनी अर्थात र्‍यापर यमबुद्धले । नेपालमा हुँदा होस् वा बेलायतमा हुँदा यमबुद्धलाई न पैसाको चिन्ता थियो न गायनमा कुनै समस्या । श्रीमतीसँग विदेशमा बसेर गीत–संगीत र जागिरमा व्यस्त नेपाली युवा र्‍यापर यमबुद्धले एकाएक संसार त्यागे । उनले आत्महत्या गरेसँगै उनका प्रशंसकहरूले सत्यतथ्य जान्न चाहे । अन्तत: त्यसको खास कारण खुलासा भयो, यमबुद्ध केही समयदेखि डिप्रेसनमा थिए र, त्यसकै सिकार हुँदै उनले आत्महत्या गरे ।

यी दुई घटनाका प्रकृति र पात्र मात्र फरक हुन् । घटनाको कारण भने एउटै हो– डिप्रेसन । विदेशी कलाकारहरू यो समस्यामा परेको त थाहा हुन्थ्यो तर यो समस्या बिस्तारै नेपाली सेलिब्रेटीहरूमा समेत सरेको छ । कतिपयले खुलाउँछन् र यथार्थ बाहिर आउँछ अनि समाचार बन्छ । कतिपय आफ्नो समस्या आफैंमा सीमित राख्छन् । यद्यपि सबैका डिप्रेसनका कारण उस्तै वा एउटै खालका छैनन् । विशेषगरी कलाकारहरूमा तीव्र महत्वाकांक्षा एवं असफलताका कारण यो समस्याले जरो गाडेको पाइन्छ ।

किन यस्तो हुन्छ ?

रंगीन छ मनोरञ्जनको यो दुनियाँ । घरबाट निस्कियो प्रशंसकहरूको भीड । फेसबुक, इन्स्टाग्राम, टिक–टक ट्विटरजस्ता सामाजिक सञ्जालमा वाहवाही † रंगीन दुनियाँका यी पात्रहरू हेर्दा जस्ता देखिन्छन् यथार्थमा त्यस्ता पटक्कै हुँदैनन् । यद्यपि कतिले भन्छन् कतिले भन्दैनन् । नाम चलेकी एक अभिनेत्री भन्छिन्– ‘कलाकारहरूमा मात्र होइन यो समस्या हरेकमा हुन्छ तर कलाकारमा हुने कारण अलिकति फरक छ ।’ लोभ, मोह, आकांक्षा र लालसा यसको मुख्य कारण हो भन्छिन् उनी । ती अभिनेत्रीका अनुसार ‘यी सबैले मानिसलाई सफलताको चुलिमा त पुर्‍याउला तर त्यहाँबाट ओर्लनुपर्ने सत्यलाई धेरैले पचाउन सक्दैनन् । चुचुरो छाड्न नचाहनु तर तल झर्नुपर्ने बाध्यताले कलाकारहरूलाई डिप्रेसनमा धकेलिरहेको छ ।’

कलाकार हुने बित्तिकै जोडिने चिज हुन्, नाम, दाम र प्रशंसा । जसले यी चिज प्राप्त गर्छन् उनीहरूलाई त्यसको आदत बस्छ । पाएको चिज गुम्न नदिने संघर्षमा डर, चिन्ता र विचलन आउँछ र त्यही मानसिक रोगको कारक बन्छ । मनोविज्ञ डा. आदर्श प्रधान भन्छन्– ‘डिप्रेसन एक किसिमको मानसिक रोग हो । यसको उपचार सम्भव छ ।’ डिप्रेसनका सम्बन्धमा चेतना नहुनुले पनि यसको पहिचानमा कठिनाइ भएको उनको तर्क छ । मानसिक समस्या भन्नासाथ अझै पनि खुलेर बताउन नसक्ने समस्या छ, डा. प्रधान भन्छन्– ‘कतिपयलाई डिप्रेसन भएपछि निको हुँदैन भन्ने ठूलो भ्रम छ ।

डिप्रेसनको प्रकृतिअनुसार यसको उपचारमा कसैलाई कम समय त कसैलाई लामो समय लाग्न सक्छ । कसैलाई विनाऔषधि मनोविज्ञको परामर्शबाट निको हुनसक्छ । कसैलाई मनोचिकित्सकबाट परीक्षण गराएर औषधि सेवन गर्नुपर्ने हुनसक्छ ।’ भावनालाई अभिव्यक्त गर्ने, दैनिकी बनाएर काम गर्ने, सफलता–असफलतालाई सहज रुपमा लिने, व्यस्त रहने, सकारात्मक सोचको विकास गर्ने, नियमित योग–ध्यान गर्ने जस्ता काममा व्यस्त रहने हो भने डिप्रेसन हँुदैन र भएकाहरू पनि ठीक हुन्छन् ।’

साना असफलतामा नडराऔं

यस विषयमा कलाकारहरूका आ–आफ्नै धारणा छन् । अभिनेता राजेश हमाल यस विषयमा जानकार छन् । उनी भन्छन्– ‘हामीले जीवनलाई दुई पाटोबाट सोच्नुपर्छ । एउटा व्यक्तिगत जीवन र अर्को व्यवसायिक । यी दुई कुरामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको व्यक्तिगत जीवन हो ।’ उनको सन्देश यो हो कि, शरीर रहे मात्र सबै कुरा सम्भव छ । शरीर रहेन भने केही पनि सम्भव हुँदैन । कहिलेकाहीँ अफिसको कामले तनाव हुनसक्छ, कहिले कसैसँग खटपट हुनसक्छ तर ती कुरालाई हामीले सहज रूपमा समाधान गर्न सक्नुपर्छ । हमाल भन्छन्– ‘जिन्दगी सधै सहज रूपमा अघि बढ्छ भन्ने सोच्नु हुँदैन । उकाली–ओराली गर्दा हरेक किसिमका समस्या सामना गर्नुपर्छ भन्ने कुराको पूर्वअनुमान गर्न सक्नुपर्छ ।’

अभिनेत्री रेखा थापा आफै यो समस्यामा त परेकी छैनन् तर यस्ता पात्रहरू भने पटक–पटक आफ्नो सम्पर्कमा आएको बताउँछिन् । केही वर्ष अघिको एक घटना रेखा थापाको मनमा अझै ताजै छ । घटना के थियो भने रेखा नजिककी एक सहकर्मी डिप्रेसनको सिकार भएकी थिइन् । ती सहकर्मी चलचित्र क्षेत्रका सबै खालका शोषण सहेर बसिरहेकी थिइन् । अन्तत: उनले रेखासँग आफ्नो यथार्थ अवस्थाको बिलौना पोखिन् । रेखा भन्छिन्– ‘उनको अवस्था कहालीलाग्दो थियो, अभिनेत्रीहरूले जे–जस्ता आरोप खेप्नुपरेको छ, त्यसको भुक्तभोगी थिइन् उनी ।’ मर्न पनि सक्दिन अनि बाँच्न पनि गाह्रो भो भन्ने ती सहकर्मीले रेखालाई आर्थिक एवं शारीरिक शोषणमा कतिन्जेल परौं भनेर प्रश्न गरेकी थिइन् । कुनै चल्तीकी हिरोइन थिइन् ती सहकर्मी पनि । लोकप्रियता चुलिदै गएकी ती अभिनेत्रीको पीडादायक कथा सुनेपछि रेखाले सुझाव दिइन्, ‘त्यसो भए यो क्षेत्र छोडिदेऊ अनि विवाह गर ।’ रेखाले आफूले उपचार गरेर निको हुन्छ अनि कला क्षेत्रमा फर्कनु भन्ने सुझाव भने दिन नसकेकोमा दु:ख लागेको बताइन् ।

विदेशमा महामारी !

नेपाली कलाकारहरूमा डिप्रेसनले गाँजेका सानातिना घटना बाहिर आए पनि धेरैले यसलाई लुकाउने जानकारहरू बताउँछन् । नाम चलेका एक चलचित्र निर्देशक भन्छन्– ‘डिप्रेसन एउटा समस्या मात्र हो, तर कलाकारहरू बदनामी हुने डर अथवा शंकोचका कारण त्यसलाई सार्वजनिक गर्दैनन् ।’ विदेशमा भने चर्चित सेलिब्रेटीहरूले खुलेरै आफ्नो समस्या बताउने गरेका छन् । बेलायती राजकुमार प्रिन्स ह्यारी, हलिउड अभिनेता ड्यानी जोनसन, शाहरूख खान, दीपिका पादुकोण, करण जोहर, इलियाना डी क्रुज, टाइगर श्राफ,अनुस्का शर्मा, मनीषा कोइराला, आशा पारेख, वरुण धवन, ऋतिक रोशन, रणवीर सिंहजस्ता दर्जनौं सेलिब्रेटी डिप्रेसनको सिकार भएका थिए । विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार बलिउड र हलिउडमा डिप्रेसनमा पर्नेहरूको संख्या निकै उच्च छ ।

के हो डिप्रेसन ?

मन उदास हुने, एक्लै बस्न मन पराउने, आफूलाई एकदमै मनपर्ने कुरामा समेत मन नरमाउने, मनमा धेरै कुरा खेल्ने, डराउने, मनमा अनेक तर्कना सिर्जना हुने जस्ता समस्या लगातार दुई साताभन्दा बढी भयो र नियमित काममा असर गर्न थाल्यो भने त्यो डिप्रेसन हो । मानिसलाई निद्रा लाग्न छोड्ने, भोक नलाग्ने, सुतेका बेला अचानक ब्यँुझने, झर्किने, रिसाउने, बाँच्नुको कुनै अर्थ नभएको जस्तो सोच पलाउने, स–साना कुरामा पनि चिढिने जस्ता क्रियाकलाप देखिन्छन् भने यो डिप्रेसनको लक्षण हो । डिप्रेसन एक खालको समस्या मात्र हो, मनोरोग विज्ञ डा. प्रधान भन्छन्– ‘समयमै समस्या पहिचान गर्ने हो भने निको हुने शतप्रतिशत सम्भावना हुन्छ ।’ उनका अनुसार वंशाणुगत, सामाजिक एवं मनोवैज्ञानिक कारणहरूले गर्दा पनि डिप्रेसनको सिकार भइन्छ । डाक्टरहरूको भनाइलाई आधार मान्ने हो भने हाम्रो शरीरभित्र रसायनमा असन्तुलन उत्पन्न हुनासाथ डिप्रेसन हुन्छ । विशेषगरी हामीभित्र खुसी अथवा दु:खी बनाउने न्युरो ट्रान्समिट्स हुन्छ । मस्तिष्कमा पाइने सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन, डोपामिनजस्ता रसायनको कमीले डिप्रेसनको अवस्थासम्म पुर्‍याउन सक्छ । ती रसायनले हामीभित्रको भावनालाई सन्तुलनमा राखेका हुन्छन् । यिनै तत्वको कमी भयो वा तलमाथि भयो भने धेरै दु:ख लाग्ने वा अत्याधिक खुसी हुने, मनमा निराशा छाउने, निन्द्रा नलाग्ने, चाहिनेभन्दा बढी जाँगर लाग्ने वा जाँगर हराउने जस्तो व्यवहार देखिन थाल्छ र त्यही अवस्थालाई डिप्रेसन भएको मानिन्छ ।