मङ्सिर २९ गतेदेखि शुरु भएको महासमितिबैठक लम्बिने भएको छ , विधान मस्यौदामाथिको विवादले एकातिर बैठक लम्बिने भएको छ भने अर्काेतिर यसअघि नै पेश भएका अन्य चार प्रतिवेदनमाथिको छलफलसमेत ओझेलमा परेको छ । बैठकको शुरुदेखि नै शीर्ष नेताहरुको ध्यान यसैमा केन्द्रित छ भने महासमिति बैठकसमेत दैनिक केही समय प्रभावित हुँदै आएको छ ।
मङ्सिर २९ गतेदेखि शुरु भएको महासमिति बैठकको उद्घाटन यही पुस १ गते भएको थियो । विधान मस्यौदामाथि शीर्ष नेताबीच सहमति जारी छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधान मस्यौदा प्रतिवेदन केन्द्रीय समितिबाट पारित गराई बैठकमा पेश गरिने बताउनुभयो ।
यसअघि यही पुस ३ गतेसम्मका लागि तय भएको बैठकमा पार्टी सङ्गठन, प्रस्तुत प्रतिवेदन र सरकारका काम कार्वाहीलगायत समसामयिक विषयमा छलफल जारी रहेकाले लम्बिने प्रवक्ता शर्माको भनाइ छ । महासमिति बैठक पुस ४ गतेसम्म हाल भइरहेको यगम्बर पार्टी प्यालेसमा हुने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पार्टी कार्यालयले जनाएको छ । त्यसका लागि पार्टी कार्यालयले आवश्यक तयारीसमेत गरिरहेको छ ।
बैठकमा हालसम्म सबै जिल्लाको प्रतिनिधित्व हुने गरी करीब १०० भन्दा बढी महासमिति सदस्यले आ–आफ्नो धारणा व्यक्त गरिसक्नुभएको छ । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको बैठकमा झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।
–––