कांग्रेस पदाधिकारी संख्या आठ : कम्तीमा ३३ प्रतिशत महिला कार्यसमितिमा रहने, उपसभापती र सहमहामन्त्रीमा महिला आरक्षण

४ पुष २०७५, बुधबार

 

 

 

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच पार्टीको केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित गर्ने सहमति भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार साँझ अबेरसम्म बसेको शीर्ष नेताहरुको बैठकले यस्तो सहमति जुटाएको हो । यो सहमतिसँगै जारी महासहमतिको बैठक कम्तीमा दुई दिन लम्बिने भएको छ । मङ्गलबारको महासमिति बैठकमा निकै तनावको अवस्था आए पनि अन्ततः कांग्रेस नेताहरु सहमतिकै आधारमा पार्टीलाई एकताबद्ध बनाएर लैजान सहमत हुनुभएको छ ।

नेपालको संविधानअनुसार कांग्रेसले पार्टी संरचनामा समावेशीतालाई उच्च प्राथमिकतामा राखेर संविधानकै क्लष्टरअनुसार समावेशी बनाउने सुनिश्चित गरेको छ । जस अनुसार कम्तीमा ३३ प्रतिशत महिला कार्यसमितिमा रहने छन्। प्रस्तावित केन्द्रीय समितिमा २० प्रतिशत अर्थात् ३३ जना केन्द्रीय सदस्य सभापतिबाट मनोनीत हुने छन् भने बाँकी सबै निर्वाचित हुने छन् ।

स्रोतका अनुसार निर्वाचित ८ पदाधिकारी मध्य उपसभापतीमा १ र सह-महामन्त्री १ मा महिला-महिलाबिच मात्र प्रतिस्पर्धा हुनेगरी बिधानमा ब्यबस्था गरिने भएको छ ।

बैठकपछि कुरा गर्नुहुँदै उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसमितिको संख्या १६१ हुने र सभापति एक, उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई–दुई जना सबै निर्वाचित गर्ने विषयमा सहमति जुटेको बताउनुभयो ।

पदाधिकारीको संख्या आठ र केन्द्रीय सदस्यको संख्या १५३ जना हुने छन् । पदाधिकारीमध्ये कोषाध्यक्ष मात्रै निर्वाचित केन्द्रीय सदस्यहरूबाट मनोनीत गरिने प्रावधान विधानमा राख्ने तयारी भएको छ । अहिले सभापति, महामन्त्री र कोषाध्यक्ष एक–एकजना मात्रै निर्वाचित हुने व्यवस्था छ ।

Leave a Reply