कांग्रेस विधानमा सहमतिको सूत्रधार सिटौला

४ पुष २०७५, बुधबार

 

 

 

 

कांग्रेस विधानमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु पदाधिकारीको विषयमा आ आफ्नो अडानमा अडिग रहेको बेला नेता सिटौलाले नै पदाधिकारीसम्बन्धी गाँठो फुकाउने काम गरेको बताइएको छ।

महासमिति सुरु भएपछि समेत नेताहरू करिब आधा दर्जनपटक विधानमाथि छलफल गर्न भन्दै बन्दसत्र रोकेरै छलफलमा बसेका थिए ।
छलफलका क्रममा पदाधिकारीको संख्यामा विभिन्न विकल्पमा कुराकानी भए पनि निर्वाचित हुनेगरी व्यवस्था गर्ने कि मनोनीतसमेत राख्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा छलफल निष्कर्षमा पुग्न सकेको थिएन।

स्रोतका अनुसार, पार्टी नेता पूर्व महामन्त्री सिटौलाको प्रस्तावमा सभापति देउवा सहमत भएपछि विधानको विवाद मिलेको हो । सिटौलाले ‘पदाधिकारी धेरै बढाएर काम छैन, उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई, दुई जना गरौं, सबै जना निर्वाचन मार्फत चयन गरौं, तर कोषाध्यक्ष र प्रवक्तामा सभापतिलाई ठाउँ दिने गरी जाउँ भनेर देउवालाई मनाएपछि पौडेल समेत मन्जुर भएको’ स्रोतको दाबी छ ।

सभापति देउवा केही पदाधिकारी समावेशी सिद्धान्तका आधारमा मनोनीत गर्नुपर्ने पक्षमा थिए भने वरिष्ठ नेतासहितको समूह कुनै पनि हालतमा पदाधिकारी मनोनीत गर्नेगरी व्यवस्था राख्न नहुने र सबै पदाधिकारी निर्वाचित नै हुनेगरी विधानमा व्यवस्था गर्नुपर्ने अडानमा रहेका थिए ।
यससँगै अब कांग्रेसको विधानमा रहेको असहमतिको मूल जडको अन्त्य भएको छ । यस्तै, केन्द्रीय समितिको आकारसमेत ८५ सदस्यीयबाट बढ्ने भएको छ । पदाधिकारीसमेत सातबाट बढेर नौ हुने भएको हो ।

यस्तै, कांग्रेसको केन्द्रीय कार्यसमितिको आकारसमेत ८५ बाट बढाएर १६१ पु¥याइएको छ । जसअनुसार सभापतिले कुल सदस्यको २० प्रतिशत मनोनीत गर्न पाउने भएका छन् ।

उपसभापति विमलेन्द्र निधिले मंगलबार साँझ भएको सहमतिअनुसार अब कांग्रेस केन्द्रीय समितिमा आठ जना पदाधिकारी रहनेगरी टुंगो लागेको जनाए ।

नेता अर्नुननरसिंह केसीले समेत सबै पदाधिकारी निर्वाचनमार्फत निर्वाचित हुनेगरी सहमति जुटेको र बुधबार बस्ने केन्द्रीय समितिले त्यसलाई अनुमोदन गरेर महासमितिमा पठाइने जनाए ।

‘अब सबै पदाधिकारी निर्वाचनमार्फत नै निर्वाचित हुनेगरी विधानमा व्यवस्था गर्ने सहमति भएको छ, कोषाध्यक्ष भने मनोनीत हुनेछन्,’ नेता केसीले भने ।

उनले समावेशी स्वरूपलाई व्यवस्थित गर्नका लागि केन्द्रीय समितिको आकार भने बढाइएको जनाए । केसीका अनुसार अब कांग्रेस विधानमा सदस्यताको प्रकारसमेत दुई प्रकारको राख्ने सहमति भएको छ ।

जसअनुसार नेपाली कांग्रेसका सदस्य र क्रियाशील सदस्य गरेर दुई प्रकारका सदस्य रहनेगरी सहमति भएको छ ।

नेता केसीले सबै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था हुनु समग्र एकता, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र सामूहिक नेतृत्व पद्धतिमा ऐतिहासिक उपलब्धि भएको समेत जनाएका छन् ।

‘सबै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था हुनु समग्र एकता, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र सामूहिक नेतृत्व पद्धतिमा ऐतिहासिक उपलब्धि हो,’ केसीले थपे ।

नेता रमेश लेखकका अनुसार निर्वाचित सभापतिले कार्यसमितिको कुल संख्याको २० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेसमेत सहमति भएको छ ।

बुधबार १२ बजे बस्ने केन्द्रीय समितिले विधानको दस्तावेजलाई अनुमोदन गर्नेछ भने बिहीबारको महासमितिको बन्दसत्रमा विधानको मस्यौदा पेस हुने नेता लेखकले जानकारी दिए ।

 

Leave a Reply