लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १५ औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन जनसागर उर्लिएको छ ।शनिबार परेकाले जनसागर नै उर्लिएको आयोजकको दावी रहेको छ । शनिबार विदाको दिन भएकाले कर्मचारी, विद्यार्थीहरु लगायतका दर्शकको उल्लेख्य उपस्थिति रहेको हो ।
महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ बिहिबारदेखि सुरु भएको महोत्सवको तेस्रो दिनसम्म आइपुग्दा महोत्सवमा करीब ३ करोड ३० लाख रुपैयाँको आर्थिक कारोबार भएको महोत्सवका आर्थिक संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन् ।
शनिबार मात्र करीब ७० हजार दर्शकको उपस्थिति रहेको उनले बताए । महोत्सवकै मुख्य आर्कषणको रुपमा रहेको मौलिक परम्परागत रत्यौली गीत प्रतियोगिताले दर्शकको ध्यान तान्न सफल भयो । नारी सम्मानका लागि तथा संस्कृति जगेर्ना गर्न आयोजित रत्यौली गीतले हजारौं दर्शकको मन जित्न सफल भएको थियो । अाजै विभिन्न राष्ट्रिय ख्याति प्राप्त दोहोरी गायक कलाकारहरुको प्रस्तुतीले महोत्सवमा दोहोरीका पारखीहरु हाँसो र खुसीका साथ रमेको पाइन्थ्यो । साँझपख पपकन्सर्ट अन्तर्गत चर्चित कलाकार दिपक बज्राचार्यको बेजोड प्रस्तुतीले थप मनोरन्जन प्रदान गरेको कलाकार व्यवस्थापन संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सवमा राखिएको विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता अन्तरगत छनोटमा परेका सात जना विद्यार्थीको शनिबारको प्रस्तुती उत्तिकै रोचक देखिन्थ्यो ।
सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवका रुपमा चिनाउँदै एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने र उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिईएको छ भने वचत रकमवाट कृषि उपज खरिदबिक्री केन्द्रको निर्माण र प्रदर्शनी स्थलको स्तरोन्नति गरिने भएको छ । महोत्सवले यस क्षेत्रको आर्थिक, समाजिक,कृर्षि र पर्यटनको विकासमा टेवा पुर्याउने उद्धेश्य राखिएको आयोजक संस्था लेखनाथ उद्योग वणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिएका छन्