वनेपा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली दुई तिहाईको सरकार हुँदा पनि सरकार संचालनको मेसो नपाएर कुहिरोको काग जस्तो भएको बताउनुभएको छ । काभ्रेको बनेपामा रेडियो अरनीको ९६.३ मेघाहर्जको शुभारम्भ गर्दै उहाँ सरकार गतिहिन बन्दा मुलुकको विकास पछाडि परेको बताउनुभयो । उहाँले भन्नुभयो–‘ओली सरकारलाई हेर्दा नै कम्युनिष्टहरुसंग काम गर्ने ढंग हुँदैन भन्ने स्पष्ट हुन्छ । कम्युनिष्टहरु विरोधको राजनीति र गफ मात्र गर्ने सक्षम हुन्छन भन्ने दुई तिहाईको सरकार गतिहिन बन्दा स्पष्ट भयो ।’
वरिष्ठ नेता पौडेलले दुई तिहाई बहुमत र रचनात्मक प्रतिपक्ष भएको अवस्थामा पनि सरकार गतिहिन बन्दा सरकार संचालकहरुको क्षामता र दक्षतामाथि जनताले प्रश्न गर्ने बेला भएको बताउनुभो । दुई तिहाईको सरकार भएको अवस्थामा मुलुकमा विकासको गति फटाफट अगाडि बढ्नुपर्ने तर गर्नै पर्ने र नगरि नहुने काम समेत सरकारले गर्न नसकेको उहाँको भनाई थियो ।
पौडेलले महासमिति बैठकबाट विश्वकै राजनीति पार्टी मध्ये उत्कृष्ट विधान नेपाली कांग्रेसले बनाएको दाबि गर्नुभयो । उहाँले नेपाली कांग्रेसको विधान लोकतान्त्रीकरण र समावेशीकरणको नमुना भएको दाबि गर्नुभयो ।
पौडेलले नेपालमा रहेको अथाह स्रोत चिन्न नसक्दा र उपभोग गर्न नसक्दा नेपाल विकासमा पछाडि परेको बताउदै नेपालको स्रोत र उपभोगका बारेमा संचार माध्यामले नागरिकलाई जानकारी गराउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो–‘विश्वका धेरै मुलुकले कृत्रिम कुराहरु बेचिरहेका छन् । हामीले प्राकृतिले दिएको सुन्दरता अनि प्राकृतिले दिएको अथाह जडिबुडिलाई समेत बेच्न सकेका छैनौ ।’ उहाँले नेपालको स्रोत उपयोग गर्नका लागि संचारमाध्यमले नागरिक सचेत बनाउने अभियानमा जुट्नुपर्ने बताउनुभयो ।