विष्णुहरि पौडेल
लेखनाथ । लेखनाथ उद्योग वणिज्य संघको आयोजनामा पुस १६ गते सम्म चल्ने १५ औं संस्करणको लेखनाथ महोत्सवमा दिनभरी स्टेजका रमाईला कार्यक्रम पनि हेर्न पाईने र घर फर्कने क्रममा आफुलाई आवश्यक सामग्री खरीद गर्न पाईने भएपछि महोत्सव स्थल व्यापारिक थलो बनेको छ ।
बजार मूल्यभन्दा केही सस्तोमा आवश्यक सामग्री पनि पाईन थालेपछि मेला भरेर फर्कन दर्शकहरुले हातमा केही न केही लिएर फर्कने गरेको देखिन्थ्यो । यसरी सामग्रीहरु पाईने भएपछि दर्शकको चाप दिन प्रतिदिन बढ्दै गएको प्रचारप्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले बताए ।
महोत्सवमा आफना सहपाठी, ईष्टमित्र र साथी दामलीहरुलाई भेट्न पाईने भएपछि भेटघाटको थलो समेत भएको छ । पुस १६ गते सम्म चल्ने महोत्सवमा एक पटक त जसरी पनि पुग्नु पर्छ भन्दै पोखरा, तनहुँ स्याङजा लगाएत यस वरपरका गाउँबाट पनि दर्शकहरु मेला हेर्नका लागि आउने गरेको पाईएको छ ।
मंगलबार दर्शकको चाप सँगै कारोबार पनि वृद्धि भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाको भनाइ रहेको छ । छैटौं दिनसम्म आईपुग्दा दर्शकको चाप सँगै कारोबारमा पनि भएको वृद्धिले थप हौसला मिलेको महोत्सवका आयोजकहरु बताउँछन् ।
बिहान १० बजे देखि साँझ आठ बजेसम्म चल्ने महोत्सवमा उपस्थित दर्शकलाई मनोरञ्जन दिनका लागि कलाकारका दोहोरी, हाँस्य, प्रहसन लगायत विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, जनजातिको मौलिक संस्कृति, साँझ पप कन्सर्ट सहित थप मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् ।
साँझ युवाहरुलाई लक्षित गर्दै राखिएको पप कन्सर्टले महोत्सवलाई थप रोचक बनाएको आयोजकको दावी रहेको छ ।