कर्मचारीले काम नगरेपछि संसदीय सुनुवाई समिति बैठक स्थगित

१५ पुष २०७५, आईतवार

संसदीय सुनुवाई समिति बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । आन्दोलित कर्मचारीले कार्यालय समयभन्दा बढी काम नगर्ने चेतावनी दिएपछि सभापति लक्ष्मणलाल कर्णले बैठक मंगलबारसम्म स्थगित भएको घोषणा गरेका हुन् ।

बैठक चल्दाचल्दै कर्मचारीले माइक लाइन काट्न लागेपछि महासचिव मनोहरप्रसाद भट्टराईको आग्रहमा सभापति कर्णले बैठक स्थगित गरेका हुन्।

बैठक सारिएपछि प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको अनुमोदन पनि धकेलिएको छ। बैठकमा सांसद सुरेन्द्र पाण्डे र निरु पालले मात्रै धारणा राख्न बाँकी थियो। संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले कार्यालय समयभन्दा बढी काम नगर्ने घोषणाअनुसार आफूहरु हिँड्ने जानकारी दिएपछि सभापतिले बैठक स्थगन गरेको बताए।

संसद्का कर्मचारी अतिरिक्त काम गरेको भत्ता माग गर्दै आएका छन्। भत्ता नदिए कार्यालय समयभन्दा बढी काम नगर्ने उनीहरुको घोषणा थियो।

Leave a Reply