काठमाडौँ, प्रहरी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी ऐन र नियमावलीको अधिनमा रही निष्पक्ष र पारदर्शीरुपमा दक्ष, सक्षम, निपूर्ण उम्मेद्वार छनोटका लागि कटिबद्ध रहेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । सोका लागि वरिष्ठ प्रहरी अधिकारीबाट सूक्ष्म निरीक्षणसमेत भइरहेको उहाँको भनाइ छ ।
छनोट प्रक्रियालाई निष्पक्ष बनाउन भर्ना छनोट भइरहेका स्थानमा विचौलियाको प्रवेशलाई रोक लगाइएको उहाँले बताउनुभयो । छनोट परीक्षामा खटिने प्रहरी कर्मचारीलाई भर्ना छनोटको प्रक्रिया ऐन नियमको पूर्णरुपमा पालना गर्न निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । छनोटमा खटिने प्रहरी कर्मचारी कर्तव्यच्यूत नहुन, विचलित नहुन, निष्पक्ष जिम्मेवारी र दायित्व निर्वाह गर्नसमेत आग्रह गरिएको सुवेदीले बताउनुभयो ।
यसपटक छनोट स्थलमा सिसीटिभी राख्नुका साथै मुभी क्यामेरा प्रयोग गरी निग्रानी गरिएको छ । छनोटस्थल नजिकका शङ्कास्पद ठाउँमा सिभिल पोसाकमा प्रहरीसमेत परिचालन गरिएको जनाइएको छ । प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षकका लागि दर्खास्त दिएका उम्मेदवारको लिखित परीक्षा यही सोमबार सकिएको र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षा आगामी माघ ११ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।
साथै प्रहरी जवान पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा जनकपुर, सिन्धुली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल र महाराजगञ्जमा भइरहेको छ । प्रहरी निरीक्षकमा १०८, प्रहरी सहायक निरीक्षकमा ५२४ र प्रहरी जवानमा छ हजार २४४ जनाका लागि दर्खास्त आह्वान भएको थियो ।