पारा राष्ट्रिय खेलकुद च्याम्पियनशिपअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिताको महिला ५५ केजीमा रजनी राईले आज स्वर्ण पदक जितेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद सङ्घ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा रजनीले ४० केजी भार वहन गरिन् । अनु राई (३५ केजी) तथा हेमकुमारी राई (३० केजी) क्रमशः दोस्रो र तेस्रो भए ।
महिला ५५ केजीमाथि सरिता थुलुङ ५५ केजी वजन उचाल्दै पहिलो भइन् । निर्मला भण्डारी (५० केजी) ले रजत तथा लक्ष्मी घिमिरे (४० केजी) ले कास्य जिते ।
पुरुष ५४ केजीमा ५५ केजी भार उठाएका दानबहादुर थिङले स्वर्ण पदक जिते । गिरीराज थापाले रजत र सागर पाण्डेले कास्य पदक जित्न सफल भए ।
त्यसैगरी ६५ केजीमा विष्णुपुकार श्रेष्ठले स्वर्ण पदक जित्न सफल भए । उनले ६५ केजी तौल उचाले । त्यत्तिनै तौल उचाले पनि अघिल्लो लिफ्टको प्रदर्शनका आधारमा दीपक तिल्सिनाले दोस्रो स्थानमा चित्त बुझाए । ६० केजी भार वहन गरेका यम श्रेष्ठले कास्य पदक जिते ।
पुरुष ७२ केजीमा आशिष मानन्धरले स्वर्ण जिते । आशिषले १२० केजी वजन उठाए । भरत बिसी (६५ केजी) दोश्रो तथा रवीन्द्र खत्री (५५ केजी) तेस्रो भए । ७२ केजीमाथि राजाराम सिलवालले प्रतिद्वन्द्वीलाई उछिन्दै स्वर्ण हात पार्ने क्रममा ९० केजी भार उचाले । शरद पौडेल (८० केजी) दोश्रो तथा निर्मल श्रेष्ठ (७० केजी) तेस्रो भए ।
विजेतालाई राखेपकी सदस्य इन्दिरा निरौला, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला र महासचिव कुमार पौडेल, आयोजक सङ्घका अध्यक्ष टेक गुरुङलगायतले एक कार्यक्रमबीच आजै पुरस्कृत गर्नुभयो ।
एकदिने प्रतियोगितामा २७ पुरुष खेलाडीले चार तथा १५ महिला खेलाडीले दुई स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।