–कुमार चौलागाईं
नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो ।
तीन खेलको सिरिजमा पहिलो खेल गुमाए पनि नेपालले दोस्रो र तेस्रो खेल जित्दै सिरिजमाथि कब्जा जमाएको हो । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज २–१ ले जितेको हो ।
आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्डसँग डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
कप्तान पारस खड्काले शतकीय इनिङ्स खेलेपछि युएईले दिएको २५५ रनको लक्ष्य नेपालले छ विकेट गुमाएर पुरा ग¥यो । नेपालको जितमा कप्तान पारसले १०९ बलको सामना गर्दै ११५ रन जोडे । ओडीआईमा पहिलो शतक बनाउने नेपालीसमेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो ।