कांग्रेसको आज देशभर शक्ति प्रदर्शन, शीर्ष नेता जिल्लामा, राजधानीमा विभिन्न ठाउँबाट जुलुस

0
620

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोधमा आज ७७ वटै जिल्लामा शक्ति प्रदर्शन गर्दै छ । विरोध प्रदर्शनका लागि अधिकांश शीर्ष तहका नेताहरू जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागी हुन पुगिसकेका छन् । केही नेता आफ्नै जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागी हुँदै छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा हुने विरोध प्रदर्शनको नेतृत्व गर्दै छन् । उपसभापति विमलेन्द्र निधिले धनुषामा हुने प्रदर्शनलाई सम्बोधन गर्ने छन् । यस्तै महामन्त्री डा. शशांक कोइराला आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने नवलपुरको विरोध सभामा सहभागी हुँदै छन् । प्रवक्ता विश्वप्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुन त्यहाँ पुगिसकेका छन् ।

यसैगरी नेता गगन थापा पोखरामा हुने कार्यक्रममा सहभागी हुन आजै विहान पोखरा पुगेका छन् । नेता शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुँदै छन् ।

यस्तै नेता कृष्णप्रसाद सिटौला झापामा हुने प्रदर्शनमा सहभागी हुने छन् । पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन नदिए पनि शीर्ष तहका नेताहरु स्वतस्फुर्त रुपमा जिल्लामा हुने प्रदर्शनमा सहभागी हुन पुगेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । राजधानीमा भने विभिन्न भागबाट जुलुस निस्किने तयारी भइरहेको छ । काठमाडौंमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कको शान्तिबाटिकामा पुगेर विरोध सभामा परिणत हुने काठमाडौं काग्रेसका सभापति सबुज बानियाँले जानकारी दिए ।

सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने उनले बताएका हुन । यस्तै उपत्यकाका ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टा छुट्टै कार्यक्रम गर्दै छन् । गत १३ माघमा बसेको कांग्रेस केन्द्रिय समिति बैठकले सरकारको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो । कांग्रेसले विभिन्न १६ बुँदे आधार देखाएर सरकार बिरुद्ध आन्दोलन गर्नु परेको बताउँदै आएको छ ।

कसले कहाँबाट संवोधन गर्दै ?

– वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् ।

–उपसभापति विमलेन्द्र निधिले धनुषामा सम्वोधन गर्दैछन् ।

–महामन्त्री डा शशांक कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन् ।

–पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन् ।

–पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापामा सम्वोधन गर्दैछन् ।

–केन्द्रीय सदस्य डा शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुने छन् । –केन्द्रीय सदस्य नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुनेछन् ।

–केन्द्रीय सदस्य गुरु घिमिरेले अर्घाखाँचीको विरोध सभालाई सम्वोधन गर्दैछन् ।

के के हुन १६ वटा मुद्दा ?

काँग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाउँदै छ ।

१, सरकारको अधिनायकवादको विरोध

२, संसदीय सर्वोच्चता कायम गर्न माग

३, सरकारको भ्रष्टाचार

४, राज्य आतंक बन्द गर्न माग

५, संसदीय मर्यादा पालना गर्न माग

६, हत्याहिंसा बन्द गर्न माग

७, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग

८, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग

९, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग

१०, चर्को मुल्यवृद्धि फिर्ता गर्न माग

११, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग

१२, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग

१३, सुशासन कायम गर्न माग

१४, विधिको शासनको पूर्ण पालना गर्न माग

१५, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप

१६, राज्य संचालन पारदर्शी गर्न माग ।