सोनाम ल्होछार पर्वका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

0
841

 

काठमाडौँ, प्रधानमन्त्री  केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ ।”

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उहाँले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभएको छ, “हाम्रा सांस्कृतिक पर्व, वेशभूषामार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिन्छ । यस्ता सम्पदालाई पर्यटक आकर्षण गर्ने माध्यमका रुपमा समेत विकास गर्न सकियो भने हाम्रो संस्कृति पनि जीवित रहन्छ । यस्ता सम्पदाको अवलोकनका लागि स्थानीयस्तरमा पुग्ने पर्यटकमार्फत आयआर्जन गर्न पनि सकिन्छ ।”

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गर्नुभएको छ ।