गिरफ्तार गरेकालाई न्याय नगरेसम्म नेवि संघले आन्दोलन जारी राख्ने

0
681

पोखरा । गत शनिवार प्रहरीले गिरफ्तार गरेका नेवि संघका ३ जना विद्याथीहरुलाई न्याय नगरेसम्म न्याय नगरेसम्म नेवि संघले आन्दोलन जारी राख्ने बताएको छ ।

विद्यार्थी रिहाईको माग गर्दै कास्कीमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले आज गरेको पूर्व निर्धारित कार्यक्रमको कोणसभामा यस्तो बताएको हो ।

मंगलवार घोषणा गरेको पूर्व निर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत आज कास्कीमा २ घण्टा सरकारी गाडी बन्द गराएको हो । संघले विहान ८ देखि १० बजेसम्म जिल्लाभरीका क्याम्पस अगाडी चक्काजाम र विरोध प्रदर्शन समेत गरेको छ । साथै संघले १ घण्टा पृथ्वी राजमार्ग अवरुद्ध समेत गरेर पोखरा विश्वविद्यालयको राजमार्गमा कोणसभा समेत गरेको हो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य सरोज केसीले गिरफ्तार नेपाल विद्यार्थी संघ कास्कीका तिन जनालाई तत्काल रिहाईको जोडदार माग गरेका छन् । उनले वर्षोदेखि रगतले पोतिएको नेवि संघको झण्डामाथि कसैले धावा बोल्न नसक्ने उद्घोष गरे ।

उनले अहिलेको सरकार काण्डै काण्डमा मुछिएको बताउँदै आफूहरुले खवरदारी गर्न पाउने कि नपाउने ? न्याय मरेको देशमा न्याय न्यायलयमाथिको हस्तक्षेपमा हामी अधिकार खोज्ने कि नखोज्ने ? भन्दै शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरीको दमनप्रति नेविसंघले घोर भत्र्सना गरेको बताएका छन् ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकाल, कास्की तरुणका नेता सुरजजङ्ग राणा, कास्कीका विद्यार्थी नेताहरु किरण बराल, भोजबहादुर गुरुङ्ग , सागर रानाभाट , विकास रानाभाट , रमेश जोशी लगायतले बोलेका थिए ।

सार्वजनिक विदाका दिन चलाईएको भन्दै गएको शनिबार नेविसंघले पोखरा महानगरको गाडी जलाएको थियो । त्यसपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । २ जना छुटेपनि परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल प्रहरी हिरासतमा छन् ।

यसैविच संघले विहिबार पोखरा महागरको शिक्षा शाखा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कामकाज ठप्प पार्ने तथा शुक्रबार कालोपट्टी सहित प्लोकार्ड लिएर शान्तिपूर्ण धर्ना दिने कार्यक्रम रहेको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । आफ्ना माग सुनुवाई नभए शनिबारदेखि अनिश्चित कालका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने नेविसंघले चेतावनी दिएको छ ।

स्मरण रहोस् मंगलबार नेविसंघका तीन केन्द्रिय सदस्यले संयुक्त विज्ञप्तीबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रममा केन्द्रिय सदस्यहरु ढकालसँगै गोपाल गुरुङ र देवकृष्ण पराजुलीले पनि हस्ताक्षर गरेका छन् ।