पोखरामा विद्याज डाइट एन्ड फिटनेस सेन्टर प्रालिको उद्घाटन भएको छ । पोखरा महानगरका उपमेयर मन्जुदेवी गुरुङले शनिबार उद्घाटन गर्दै बढ्दो स्वास्थ्य समस्याबारे सचेतनामा फिटनेस सेन्टरले नयाँ अनुभव प्रदान गर्ने बताइन् । कलाकार क्षेत्रलाल कायस्थको अध्यक्षतामा भएको सभामा उपमेयर गुरुङले आफू पनि सेन्टरमा नियमित जोडिने बताउँदै स्वास्थ्यलाई विकासको एजेन्डामा लैजाने महानगरको योजना रहेको सुनाइन् ।
विरामी हुन नदिन फिटनेस सेन्टरले ल्याएको अवधारणा पोखरामा नयाँ भएको गुरुङले बताइन् । बढ्दो विषादी, कम श्रम र व्यायम तथा मोटोपनको समस्यामा सेन्टरले मानव स्वास्थ्यमा सुधार गर्न टेवा पुग्ने भन्दै उपमेयर गुरुङले महानगरले पूर्ण सहयोग गर्ने बताइन् । प्रालिका अध्यक्ष इन्जिनियर सरोज कायस्थले स्वागत गर्दै हेल्दी किचनका कारण स्वास्थ्य र जीवनकालागि पोखरेलीको चाहना अनुरुप प्रालि सुरुआत गरेको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा नेपाल मधुमेह समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालले ज्ञान र चेतनाको अभावमा विरामी भएर बस्दै आएका नागरिकलाई राज्यले गर्नुपर्ने काम सेन्टरले गरेको बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङ, डा. जगत खड्का, मिस पोखरा २०१८ की विजेता सारा बजिमय, पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरका अध्यक्ष राजन श्रेष्ठ, डाइटिसिएसन विद्या कायस्थ, अक्षर मन्टेसरीकी प्राचार्य शर्मिला ताम्राकार लगायतले बोलेका थिए ।
कार्यक्रममा बढ्दो सहरीकरण, व्यस्त जीवन, तनावपूर्ण दैनिकी तथा विभिन्न रोगबाट पीडितलाई सेन्टरले सेवा सुरु गरेकामा खुसी व्यक्त गरेका थिए ।