म निर्देशकबाटै ठगिएँ : निर्मात्री थापा

३ फाल्गुन २०७५, शुक्रबार

चलचित्र ‘रणवीर’ प्रदर्शन भएको एक हप्ता भयो । माघ १८ मा प्रदर्शन भएको उक्त चलचित्र दोस्रो हप्तामा चलिरहेको छ । काठमाडौंसँगै देशभरीका विभिन्न हलमा प्रदर्शन भइरहेको यो चलचित्र हेर्ने अधिकांश दर्शकले दिने प्रतिक्रिया भने सकारात्मक छ । गुण्डागर्दी विरुद्धको एक्सन र लभ स्टोरी चलचित्र ‘रणवीर’ लाई गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन् । गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्र प्रदर्शन भएपछि धेरै नेपाली चलचित्र युनिटमा किचलो सुरु हुन्छ, यस्तै भएको छ यो चलचित्रको पनि । निर्माता विष्ट र रेग्मीले निर्देशक गोविन्दसिंहका कारण भनेजस्तो प्रचार–प्रसार गर्न नसकेको, सोचेभन्दा ऋणमा डुवाएको, आफ्नै मनोमानी चलाएको आरोप लगाएका छन् । यसै विषयमा बजारमा चलेको हल्ला के हो ?  निर्मात्री गोमा विष्ट थापासँगको कुराकानी ।

चलचित्र सोचेजस्तो चलेन नी ?

चलचित्र सोचेजस्तो नचलेको पक्कै हो । तर यसका पछाडि विभिन्न कारण छन् ।

के हो कारण ?

हामीले चलचित्र जुन समयमा ल्याउन खोजेका थियौ, त्यो समयमा प्रदर्शन गर्न सकेनौं । प्रशस्त प्रचारमा खटिन सकेनौं । भनेजस्तो प्रचार–प्रसार गर्न नसकेपछि कसरी चलचित्र चलोस् ? निर्देशक गोविन्दसिंहका कारण हाम्रो चलचित्रले भनेजस्तो सफल हुन नसकेको हो ।

निर्देशकलाई आरोप लगाउनु भएको छ, गल्ती के हो ?

पहिलोपटक स्क्रिप्टको सल्लाह अनुसार हामी दुईजनाले गोविन्दजीलाई बजेट दिन आग्रह गर्‍र्यौ । उहाँले ८० लाखको बजेट दिनुभयो । हामीले १ करोड लाग्न सक्छ भनेर सोहि अनुसार बजेट तयार गर्‍र्यो । उहाँले ४५ दिनको सुटिङ सेडुअल दिनुभएको थियो, हामीले ५ दिन थपिदियौं । ५० दिनमा सकाउने सहमती भयो तर ८० लाखमा सुटिङ सक्नुपर्छ भनिएको चलचित्रको बजेट २ करोड ५० लाख पुग्यो । ५० दिनमा सक्नुपर्ने सुटिङ ९५ दिनमा सकियो । मैले सुटिङ सेटबाटै उहाँलाई निकालिदिन खोजेकी थिएँ, दिपेन्द्रजीले गर्दा म व्याक भए । टेक्निसियनदेखी कलाकारसम्म आफै छान्ने र बजेटमा मनोमानी गर्ने, हामीले भनेको केहि पनि नटेर्ने उहाँको कामवाट असाध्यै आजित भएका थियौँ । म जस्तो नयाँ निर्माता कसरी ठगिँदा रहेछन् भन्ने राम्रोसँग बुझेँ ।

निर्देशक निकाल्न किन सक्नुभएन त ?

चलचित्र निर्माण भइरहेका बेला किन किच–किच गर्ने भन्ने सोच्यौं । अनावश्यक हल्ला फैलाउन खोजेनौं ।

चलचित्र प्रदर्शन भइसक्यो । अब हल्ला गर्दै हिँडेर के पाउनुहुन्छ ?

तपाईँ मिडियाकर्मीहरुले पनि हाम्रो आवाज वुलन्द गरिदिनुपर्छ । हामीजस्ता नयाँ निर्मातालाई कसरी ठग्छन् भन्ने उदाहरण दिन खोजेकी हुँ । नयाँ निर्माता होसियार हुनुपर्छ भन्ने सन्देश दिन खोजेकी हुँ । ८० लाखमा चलचित्र निर्माण गरिदिन्छु भनेर निर्देशकले जुन वचन दिनुभएको थियो किन ढाई करोड पुग्यो त ? यसको जवाफ दिनु पर्दैन ? गोविन्दसिंह जस्ता धेरै व्यक्तीहरुवाट सोझा–सिधा निर्मातालाइ बचाउन यो प्रयास गरेकी हुँ ।

नयाँ निर्माता ठगिन्छन् भन्ने सन्देश दिन खोजेकी हुँ भन्नुभयो, चलचित्र निर्माण नहुंँदै केहि बुझेर आएको भए टेन्सन हँुदैन थियो होला नि ?

मैले अघि भनिसकें, नेपाली चलचित्र उद्योगमा विभिन्न प्रलोभन देखाएर ठग्नेहरुको भिड रहेछ । सुरुमा चिल्ला कुरा गरेर पछि मनोमानी गर्नेहरुसँग केहि नलाग्दोरहेछ । हामीले चलचित्र निर्माण गर्न दिएपछि अगाडी बढ्दा निर्माताहरुसँग सल्लाह गर्नुपर्दैन ? हामीले मंसिर १४ मा चलचित्र प्रदर्शन गर्ने भनेका थियौं तर, उहाँले समयमै काम पुरा नगर्दा उक्त मितिमा चलचित्र ल्याउन सकेनौँ । एउटा कुरा मान्नुहोस्, मिठो छ भन्दैमा जाडोमा आइसक्रिम चल्दैन, खरबुजा कसैले खाँदैन । हामीले मंसिरमा चलचित्र ल्याउन नसक्दा भनेजस्तो चलचित्रको व्यापार भएन, लगानी उठाउन नसकिने पक्का जस्तै छ । चिज त राम्रो निस्कियो तर समयमै नआएपछि नतिजा राम्रो भएन ।

साभार कान्तिपुर सप्ताहिक अनलाइन

Leave a Reply