खैरो हिरोइन ओसारपोसारमा संलग्न एक भारतीय सहित चार पक्राउ

0
1264

टीकापुर, प्रहरीले लागु पदार्थ खैरो हिरोइन ओसारपोसारमा संलग्न एक भारतीय सहित चारजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक सुखदेव सिँह (२४) रहेका छन । लखिमपुर खिरीस्थित खिरिम ग्राम पञ्चायत बस्ने सिँह गाडी चालक हुन । उनी ४९ दशमलव २६० ग्राम खैरो हिरोइन सहित टीकापुर नगरपालिका–९ खक्रौलाबाट पक्राउ परेका हुन ।
उनी नम्बर नभएको मोटरसाइकलमा चढेर टीकापुरतर्फ आईरहेको बेला प्रहरीले शंका लागेपछि चेकजाँच गर्दा खैरो हिरोइन सहित पक्राउ गरेका हुन । उनीहरुको साथबाट प्रहरीले ५५ दशमलव २१ ग्राम खैरो हिरोइन बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले टीकापुर नगरपालिका–२ बन्दिपुरका निराजन शाही (२५), अस्नेहरीका नविन कार्की (२४) र बर्दिया गेरुवा गाउँपालिका–२ की भावना हमाल (१९) लाई समेत खैरो हिरोइन सहित पक्राउ गरेको छ । प्रहरीले शाही र कार्कीको साथबाट ४ दशमलव १३० ग्राम र हमालको साथबाट १ दशमलव ८२० ग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ ।